काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गठन गरेको ऊर्जा नीति कार्यदलको संयोजक तथा पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागका प्रमुख वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने भावी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको बलियो दाबेदार हुन् । न्यौपाने तनहुँ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन् ।
मतदाताले भाषणभन्दा परिणाम खोजिरहेका छन् । पछिल्लो समय स्पष्ट दृष्टिकोण, प्राविधिक रुपमा दक्षता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको अनुभव बोकेका उम्मेदवारप्रति आम नागरिकको चासो बढ्दै गएको छ । यही सन्दर्भमा न्यौपाने जस्ता विकास बुझेका उम्मेदवारहरुको विषय निर्वाचन क्षेत्रमा मात्रै नभइ राष्ट्रिय रुपमा चासोको विषय बन्न थालेको छ । वि.सं. २०२६ असार २१ गते तनहुँमा जन्मिएका न्यौपानेले पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा वाटर रिसोर्स इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । बेलायत, जापान, फ्रान्स, नेदरल्याण्ड, चीन लगायत एक दर्जनभन्दा बढी देशको भ्रमण र अध्ययनले उनको अनुभवलाई फराकिलो बनाएको छ ।
सरकारी सेवाबाट सुरु भएको उनको यात्रा राष्ट्रिय गौरवका आयोजनाको नेतृत्वसम्मै पुगेको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङ निर्माण, नागढुंगा सुरुङ मार्गमा सबकन्ट्रयाक्टको परियोजना निर्देशकको भूमिका, २५ मेगावाटको अपर दोर्दी तथा ४३ मेगावाटको ‘अपर मादी ०’ जलविद्युत आयोजनाको नेतृत्व जस्ता अनुभवले उनलाई ‘कागजी योजना’ भन्दा ‘मैदानमा परिणाम’ दिन सक्ने नेतृत्वका रूपमा चिनाएको छ । सुरुङ, जलविद्युत र पूर्वाधार विकासजस्ता अत्यन्तै महत्वपूर्ण तर जटिल क्षेत्रमा देखाएको कुशल व्यवस्थापकीय नेतृत्वले उनलाई थप भरोसा गर्न सकिने देखाएको छ ।
न्यौपानेको अर्को महत्वपूर्ण पक्ष शिक्षा क्षेत्रमा उनको योगदान हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट स्थापना गरी हजारौँ इन्जिनियर उत्पादन गर्ने कार्यको उनले सबल नेतृत्व गरिसकेका छन् । कास्की र तनहुँका ग्रामीण विद्यालयमा निःशुल्क स्मार्ट बोर्ड वितरण गरी काठमाडौंका प्रतिष्ठित विद्यालयका कक्षालाई प्रत्यक्ष रूपमा दूरदराजका विद्यार्थीसमक्ष पुर्याउने प्रयासले प्रविधिको समायोजन मार्फत शिक्षामा सबैको पहुँचमा उनको स्पष्ट सोच देखाउँछ । विकास केवल भौतिक संरचना निर्माणमा मात्रै सीमित नभइ मानव पूँजी निर्माण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश उनले व्यवहारमै दिएका छन् ।
राष्ट्रिय नीति–निर्माण र संस्थागत भूमिकामा पनि न्यौपाने सक्रिय देखिन्छन् । नेपाल इन्जिनियरिङ काउन्सिलका निर्वाचित तथा मनोनित बोर्ड सदस्य, इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यकारी समिति सदस्य, विश्वविद्यालयस्तरीय बोर्ड सदस्यदेखि लिएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जस्ता अनुभवले उनलाई नीति–निर्माण तहमा काम गर्न सक्ने व्यक्तिका रूपमा स्थापित गरेको छ । वि.सं. २०७८ मा संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट प्रदान गरिएको ’प्रबल जनसेवाश्री’ पदकले उनको सेवाभाव र योगदानलाई राज्यले पहिचान गरिसकेको छ ।
राजनीतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सक्रिय रहँदै उनले ऊर्जा नीति कार्यदलको संयोजकका रूपमा सातै प्रदेशमा ऊर्जा नीति संवाद कार्यक्रम सञ्चालन गरे । विज्ञहरूसँगको अन्तरक्रिया, नागरिक सुझाव संकलन र नीति मन्थन कार्यक्रमहरूले उनको दृष्टिकोण केवल सैद्धान्तिक नभई सहभागितामूलक र व्यवहारिक रहेको पुष्टि गर्छ । हाल केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले पूर्व सचिव तथा प्राविधिक विज्ञहरूको सल्लाहकार समिति गठन गरेका छन् ।
उनको मूल दर्शन ऊर्जा र जलस्रोतको अधिकतम उपयोगमार्फत आर्थिक रूपान्तरण गर्नु हो । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दशकलाई ‘ऊर्जा विकास दशक’ का रूपमा घोषणा गर्दै ३०,००० मेगावाट जडित क्षमता हासिल गर्ने लक्ष्य अघि सारेको छ । निकै महत्वाकांक्षी देखिने तर मुलुकको दीर्घकालीन आर्थिक रणनीतिसँग जोडिएका ग्रीन हाइड्रोजन उत्पादन, ऊर्जामा आधारित उद्योग स्थापना, डेटा सेन्टर र एआइ प्रविधिका लागि नेपाललाई उपयुक्त गन्तव्य बनाउने प्रस्तावहरू पार्टीको वाचापत्रमा राखिएको छ । न्यौपाने बारम्बार भन्ने गर्छन्, ’ऊर्जा लोकतन्त्रको प्राण हो।’ कृषि, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य सबै क्षेत्रको आधार ऊर्जा नै हो भन्ने उनको तर्कले विकासका लागि नेपालमा रहेको जलस्रोतको अधिकतम उपयोग नै समृध्दिको प्रमुख माध्यम रहेको देखिन्छ ।
कालीगण्डकी कोरिडोर र तनहुँ–नवलपुर सीमाक्षेत्रका टारहरूलाई दिगो औद्योगिक तथा सहरी आर्थिक रणनीतिक केन्द्रका रूपमा विकास गर्ने अवधारणा, स्मार्ट भिलेज निर्माण, स्टिल, सिमेन्ट, हाइड्रोजन ऊर्जा, रासायनिक मल जस्ता उद्योग स्थापना गर्ने सम्भावनाबारे प्रस्तुत गरिएको गुरुयोजना प्रस्तावले उनको सोच क्षेत्रीय सीमाभन्दा माथि उठेर राष्ट्रिय औद्योगिकीकरणतर्फ केन्द्रित रहेको देखाउँछ । ऊर्जा उत्पादन मात्र नभइ स्वदेशभित्रै सन्तुलित खपतमार्फत अर्थतन्त्र विस्तार गर्ने लक्ष्य उनको प्राथमिकतामा छ ।
विश्व अनुभवले नै प्रष्ट रुपमा देखाएको छ– भारतले कृषि आधुनिकीकरण, चीनले औद्योगिकीकरण, खाडी मुलुकहरूले पेट्रोलियम स्रोतको अधिकतम उपयोगमार्फत आर्थिक फड्को मारे । न्योपाने भन्छन्, ’नेपालमा उपलब्ध जलस्रोत र ऊर्जा सम्भावना नै मुलुकको दीर्घकालीन समृद्धिको आधार हो ।’
यसरी हेर्दा तनहुँ २ बाट उनको उम्मेदवारी केवल क्षेत्रीय प्रतिनिधित्वको सवाल होइन, प्राविधिक दक्षता र विकासको स्पष्ट दृष्टिकोणलाई संसदसम्म पुर्याउने अवसरका रूपमा हेरिएको छ । स्थानीय बासिन्दाको विश्वास छ, उनी केवल सांसदका रूपमा सीमित रहने होइनन्, ऊर्जा, जलस्रोत तथा पूर्वाधार जस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्न सक्ने क्षमता राख्छन् ।
देशभरिका मतदाताका लागि पनि यो सन्देश महत्वपूर्ण छ, ’राजनीतिमा प्राविधिक दक्षता, नीतिगत स्पष्टता र इमानदार कार्यान्वयन क्षमतासहितका उम्मेदवारहरू विजयी हुनुपर्छ ।’ लोकतन्त्रको सार प्रतिनिधित्वमा मात्र नभइ परिणाममा खोजिनुपर्छ । यदि संसदमा ऊर्जा, जलस्रोत, पूर्वाधार र शिक्षा जस्ता क्षेत्रमा गहिरो अनुभव भएका व्यक्तिहरूको संख्या उल्लेख्य रहन सकेमा मात्रै नीतिगत स्थिरता र कार्यान्वयन क्षमता दुवै सुदृढ हुनसक्छन् ।
पटकपटकको जस्तो अर्को संक्रमणकाल धान्ने अवस्थामा अब मुलुक छैन । स्थिर नीति, सुशासन र दीर्घकालीन आर्थिक दृष्टिकोण आवश्यक छ । उनलाई नजिकबाट बुझेका व्यक्तिहरुले भन्ने गरेका छन्, ’श्रीराम न्यौपानेजस्ता स्पष्ट भिजन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र व्यवहारिक कार्यक्षमता भएका उम्मेदवारहरूलाई विजयी गराउनु भनेको एक व्यक्तिले मात्रै विजयी गर्नु नभई विकासको स्पष्ट मार्गचित्रलाई संसदसम्म पुर्याउनु हो ।’ लोकतन्त्रमा अन्तिम निर्णय मतदाताकै हातमा हुन्छ । तर जब चुनाव विकासको बहसमा रूपान्तरित हुन्छ, तब योग्य, सक्षम र इमानदार उम्मेदवारहरूलाई प्राथमिकता दिनु नै राष्ट्रहितमा हुन्छ । तनहुँ २ बाट उठेको यो उम्मेदवारीले राष्ट्रिय सन्देश बोकेको छ, ’नेपालको समृद्धि अब भाषणले होइनः ऊर्जा, योजना र परिणामले सम्भव हुन्छ ।’

प्रतिक्रिया