ठेकेदारलाई ‘रुखमा बाँध्ने’ काम कोबाट सुरु गर्ने ?


नारायण गाउँले ।
‘रुखमा झुन्ड्याएर हुन्छ कि बाँधेर हुन्छ, दुई वर्षमा बन्नुपर्ने सडक डेढ वर्षमा बन्नु पर्यो !’ यो भाषणमा अलिकति अराजकता होला, तर नियत र आशय गलत छैन । म बुझ्छु, नेपालको मुख्य समस्या Project execution नै हो । समयमा काम नहुने र लागत बढ्दै जाने समस्या जताततै छ । केही गर्छु भन्ने नेतालाई पक्कै रिस उठ्छ । तर वस्तुस्थिति फरक छ । रूपन्देही–५ मा बालेनकै दलबाट उम्मेदवार बनेका तोफीक अहमद खानले एक वर्षमा बनाउने भन्दै ठेक्का लिएको बुटवलको सडक समयमा बनेन । थपिएको म्यादमा समेत आधामात्रै काम भएको रहेछ । अहिले त काम नै ठप्प रहेछ । भाइलाई कामको जिम्मा दिएर उनी चुनाव लड्दै छन् ।

पेशेवर ठेकेदार र नेताको कुरा छोडम् । नेपाली सेनाले नै जिम्मेवारी लिएको फास्ट ट्रयाक समयमा बन्न सकेको भए आज टिकटक र रिल्सभरि त्यो सडकको फोटो हुन्थ्यो । युरोप र चीनका जस्तै अग्ला अग्ला पुल र टनेल बन्दै छन् त्यहाँ । चिनियाँ ठेकेदारले जिम्मा लिएको बुटवल–नारायणगढ सडकले कति दुर्दशा भोग्यो र अनियन्त्रित धुलोले कति धेरै जनसङ्ख्यालाई दीर्घरोगी बनायो भन्ने हिसाब छैन । रिङरोडमा चिनियाँ कम्पनीले गरेको ढिलाइ र लापरबाहीबाट दिक्क भएर बालेनले चिनियाँ दूतावासलाई कार्यक्रम गर्ने अनुमति नै रोकेको पढ्नुभएकै होला । तैपनि काम हुँदैन ।

नेपालको सरकारी निर्माणमा पप्पु कन्स्ट्रक्शन सबैभन्दा बढी विवादित छ । सरकारले नै कालोसूचीमा राख्नेदेखि अदालतले भ्रष्टाचारको केसमा जरिवाना नै लगाएको थियो । तर पनि सरकारी ठेक्का उसैलाई परिरहन्छ । त्यसका मालिक हरिनारायण रौनियार जसपाबाट सांसद बनेका थिए, भ्रष्टाचार मुद्दासँगै निलम्बनमा परे । र यो सबै भएपछि पनि उनलाई केपी ओलीले एमालेमा स्वागत गरे ।

कसैले भाडाको बहानामा नेतालाई घरै दिएर, कसैलाई गाडी दिएर, कसैलाई चुनाव खर्च दिएर पनि ठेकेदारले सबै पार्टीलाई खुशी बनाएकै हुन्छन् । तर यो सबै ठेकेदारको साझा चरित्र होइन र तीमात्रै ढिलाइका कारण पनि होइनन् । खोला र नदीजन्य पदार्थको प्रयोगमा अनेक कानुनी जटिलता छन् । स्थानीय निकायको अवरोध छ । एउटा रूख काट्न दशथरी फाइल घुमाउनुपर्ने अवस्था छ । जग्गाको मुआब्जादेखि बिजुलीको पोल सार्नेसम्म विभिन्न निकाय र ऐनको भूमरी छिचोल्न पर्छ । कदम कदममा कमिशनका खेल छन् । वडाध्यक्षदेखि सरकारी इन्जिनियरसम्मलाई पकेट–मनीका कुरा छन् ।
कसै न कसैले त यसको समाधान खोज्न पर्यो । गाह्रो छ भनेर आँखा चिम्लिने कुरो भएन । कानुनदेखि नेता र व्यवसायीदेखि नागरिक इमानसम्म सबै सच्चिन पर्नेछ । तर सुरु कसले कहाँबाट गर्ने भन्ने आजको मुख्य प्रश्न हो ।