काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ । शनिबार विज्ञप्ति जारी गरी एमालेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा मुलुक थप भय र त्रासमय बन्दै गएको जनाएको हो ।
चुनावलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन समपन्न गराउने विषयमा सरकारले शान्ति सुरक्षाको वातावरणलाई भरपर्दो र विश्वासयोग्य बनाउन नसकिरहेको भन्दै एमालेले मुलुकभर कुनै एक अमुक दलले आफ्नो आस्थाको केन्द्र सूर्य अङ्कित झण्डा जलाउने, मूल नेतृत्वप्रति घृणा फैल्याउने कार्यलाई तीव्र पारेको उल्लेख गरेको छ ।
मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्रका रूपमा भएका अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ । यसतर्फ सरकार र सम्बन्धित निकायलाई जवाफदेही र उत्तरदायी बन्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पनि एमालेले माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देश पहिला’का लागि नेकपा (एमाले) जस्तोसुकै बलिदान दिन तयार छ । अनेकन कठिन अवस्थामा पनि धैर्य, संयमताका साथ आफ्ना एजेन्डा लिएर एमाले जनताको घरदैलोमा पुगेको छ । फागुन २१ को प्रतिनिधि सभा चुनावलाई नेकपा (एमाले) ले ’देश बनाउने र जलाउने’ बीचको जनमत सङ्ग्रहको रूपमा लिएको छ । कथित नयाँको नाममा ’भोट फर चेन्ज’ को भाष्य बिक्री हुन छोडेपछि अहिले देशैभर अभद्र व्यवहार, सर्वेक्षणको नाममा जनममतलाई प्रभावित गर्ने गरी फेक सर्वेक्षण परिणाम सार्वजनिक गर्ने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’



प्रतिक्रिया