कनिष्ठसँगको बहसमा बसेर ओलीले दिएको सन्देश


नारायण पौडेल
पत्रकार विजय पौडेलले गरेको उम्मेदवार बहसमा सहभागी भएर केपी ओलीले प्रसंशनीय कार्य गरेका छन् । सामान्यतयाः यस्ता बहसमा सिनियर भनिएका नेताहरु सहभागी हुन अनिच्छुक हुन्छन् । तर, ओलीले उम्मेदवारलाई प्रतिस्पर्धीका रुपमा सम्मान गरेका छन् । खरा प्रश्न र कठोर आलोचनाको सार्वजनिकरुपमा खुला मैदानमा सामाना गरेका छन् । ओली कनिष्ठसँग उस्तै आसनमा बस्ने नेता होइनन् । को–पाइलटको भन्दा आफ्नो सिट उँचो देखाउनुपर्ने नेता हुन् । ओलीको पछिल्लो प्रस्तुति रणनीतिक छ । सो रणनीतिको आंकलन गर्नुभन्दा पहिले नेपाली नेताको अद्वितिय एउटा गुण बारे संक्षिप्त कुरा गरौं ।

संसारमा प्रश्नको सामना गर्ने र जस्तो सुकै आलोचनापनि सहिष्णुताका साथ पचाउने नेता सायद नेपालका मात्रै हुन् । दर्जनौं पटक यस्तो परिस्थितिको साक्षात्कार म आफैंले पनि गरेको छु । भारतमा मोदी आफ्ना काखे पत्रकारसँग मात्र बोलचाल गर्छन् । आफूसँगै लिएर गएको पत्रकारले कडा प्रश्न गरेपछि बीच बाटामै छाडेर अलपत्र पारेर मोदी हेलिकप्टरमा उढेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले ठाउँको ठाउँ व्यक्तिगतरुपमै हुर्मत लिइदिन्छन् । अन्य देशमा पनि सवालजवाफमा सेन्सर रहने गर्दछ । नेपालमा सायदै प्रश्नमा सेन्सर छ । नेपालका नेताहरु प्रश्नप्रति सहिष्णु छन् । भोलिका दिनमा प्रश्न गर्न पाइएला या नपाइएला, प्रश्न गरेपनि उत्तर मिल्ला कि नमिल्ला ? यसै भन्न सकिन्न ।

ओलीले सार्वजनिक बहसमा सहभागी भएर आफ्ना प्रतिस्पर्धीलाई आमरुपमा चिनाएका छन् । झापा ५ मा केपी कि बालेन भनेजस्तो बहस भैरहेका बेला ओलीले अन्य उम्मेदवारसँग मञ्च सेयर गरेर उनीहरुलाई ‘पुल’ गरिदिएका छन् । यहाँ बालेन र म मात्रै होइन अरु पनि छन् भन्ने सन्देश ओलीले सम्प्रेषण गर्न चाहेको देखिन्छ । राजनीतिकरुपमा कनिष्ठलाई फाइदा हुन्छ वरिष्ठसँगको बहसमा । जस्तो ओलीसँग रञ्जित तामाङले गरेको सवाल जवाफको सामाजिक संजालमा चर्चा भैरहेको छ । बालेन बालेन भन्ने ठाउँमा अर्काको चर्चा हुँदा पनि ओलीलाई राहतै भएको हुन सक्छ । ओलीको चाहाना हुन सक्छ– सके आफैं जित्ने, नसके बालेनलाई पनि जित्न नदिने । कि विनर हुने कि हार्दा पनि विन विन हुने विकल्पमा जाने । ओलीटिक्सले पोलिटिक्सलाई कति घमाउने हो कसरी घुमाउने हो, यसै भन्न सकिन्न ।