जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित पार्टीको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले सहकारीका ठगहरुलाई तह लगाएर समस्या समाधान गर्ने बताएका हुन् । उनले मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न आफूले चाहेको बताए ।
उनले भने, ‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई पनि तह लगाउँछौँ ।’
मधेशमा लागू औषधको दुव्र्यसनीको समस्या रहेको भन्दै त्यसलाई नियन्त्रण गर्ने बताए । उनले अब कुनै पनि व्यक्तिले राज्यसँग प्रश्न सोधेकै भरमा गोली खानु नपर्ने अवस्था बनाउने बताए ।
उनले भने, ‘प्रश्न गर्दा २३ भदौमा जसरी युवा मारिँदैनन् । हामी यो प्रतिज्ञा गर्न आएका हौँ ।अब कसैले प्रश्न सोधेकै भरमा गोली खानु पर्दैन । कसैले नकाब लगाएर सिंहदरबार जलाउनु पर्दैन । यो नेपाली कांग्रेसको प्रतिज्ञा हो ।’
सभापति थापाले कुनै सेवाग्राहीले सार्वजनिक सेवा लिँदा घुस दिन नपर्ने अवस्थाको नेपाल बनाउने आफूहरूको प्रतिज्ञा रहेको बताए । त्यस्तै उनले अब नेपाली कांग्रेसका कोही पनि नेता कुनै काण्डमा मुछिने छैनन् भन्ने आफूहरूको प्रतिज्ञा रहेको बताए । उनले कांग्रसले देशको नेतृत्व लिएर कुशासन हटाउने प्रतिज्ञा गरेको बताए ।
उनले भने, ‘मधेसबाट कांग्रेसले देश बदल्ने साहस लिएको छ। आँट लिएको छ। अब मधेसले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ।’ उनले मधेसका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकेडेमी बनाउने बताए ।
उनले भने, ‘मैले यहाँका युवाहरूको क्रिकेटको सपना पूरा गर्न चाहन्छु। चाहे यहीँबाट होस् वा भारत सरकारसँग सहकार्य गरेर होस् क्रिकेट एकेडेमी बन्छ ।’ सभापत िथापाले आफू मधेसको बेटा बन्न आएको भन्दै दुर्गानन्दको साहस, कुशेश्वरको रगतको सम्मान र महेन्द्र निधिको जीवनशैली रहेकोले मधेसमा आएको बताए।

प्रतिक्रिया