काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चिताका लागि जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न सवै पक्षलाई आह्वान गरेको छ ।
नेकपा निर्वाचन परिचालन समितिले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढ गर्न, र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेको हो ।
सबै पक्षको सामूहिक प्रयासबाट देश निर्वाचनको निर्णायक चरणमा पुगेको भन्दै नेकपाले आफ्नो पार्टीमाथिको विश्वास र भरोसा बढिरहेको दावी गरेको छ । देशलाई इमान्दारिताका साथ सही दिशामा नेतृत्व गर्न सक्षम शक्ति नेकपा मात्रै भएको नेकपा निर्वाचन परिचालन समितिका संयोजक अग्नीप्रसाद सापकोटाले बताए ।
त्यस्तै नेकपाले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने बिभिन्न प्रकारका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै केही सीमित सञ्चारमाध्यमहरू पत्रकारिताको न्यूनतम मान्यता र आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर नेकपालाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेको जनाएको छ ।
सापकोटाले निर्वाचन विथोल्न चाहने शक्तिहरू अहिले पनि सक्रिय रहेकाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । सापकोटाले पछिल्लो रिपोर्ट हेर्दा आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने स्पष्ट भएको उल्लेख गरे ।
नेकपाले सबै राजनीतिक दलहरूको विगत र वर्तमानको भूमिका, विचारधारा, एजेन्डा र आगामी रोडम्यापको गहिरो मूल्याङ्कन गर्न, विवेकपूर्ण निर्णय गर्न, र इतिहासका उपलब्धिहरुको रक्षा गर्दै परिवर्तन, स्थायित्व तथा समृद्धिको पक्षमा उभिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया