नेकपा संयुक्तको प्रस्तावः एक व्यक्ति दुई पटक प्रधानमन्त्री, बढीमा चार पटक मन्त्री


काठमाडौं । नेकपा (संयुक्त) को घोषणा पत्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्नेे बताइएको छ । उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचार मुक्त राजनीति रहेको भन्दै घुस नखानेको पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘हामीमाथि भ्रष्टाचारको आरोप नलाग्ने गरी अन्तर्राष्ट्रिय मञ्चमा उभिनसक्ने नेतृत्वबिना हामीले अरूमाथि प्रश्न गर्न सक्दैनौँ । त्यसैले उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचारमुक्त राजनीति हो । त्यसैले भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्छ । त्यसैलाई हामीले चलनचल्तीको भाषामा र साङ्केतिकरुपमा ‘घुस नखाने राजनीति, घुस नखाने पार्टी’ भनेका हौँ ।’

त्यस्तै अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रुपमा रहेका पूराना शक्तिहरूले आफ्नो अयोग्यता सावित गरिसकेको र नयाँ पार्टीलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह नरहेको नेकपाको भनाई छ ।
उसले समयको मागलाई पूरा गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

‘अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रुपमा एकातिर ति पुराना शक्तिहरू छन् । जसले आफ्नो अयोग्यता सावित गरिसकेका छन् । अर्कोतर्फ ती नयाँ पार्टी छन् जसलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह छैन । मानौँ उनीहरू रङ्गमञ्चमा आएपछि मात्रै नेपाली राजनीतिको इतिहास सुरु भएको हो । यसरी नेपालको राजनीति अँध्यारोतर्फ जाँदैछ, दुर्घटनातर्फ जाँदैछ । यस्तो अवस्थामा मुलुकले विचौलियातन्त्रका सहयोगी तथा आन्तरिक लोकतन्त्र मरिसकेका पुराना ठूला पार्टीहरूको विकल्प खोजेको छ ।’

उसले एक जना व्यक्ति दुई पटकसम्म मात्र प्रधानमन्त्री हुन, बढीमा चार पटक मन्त्री र सांसद हुन पाउने व्यवस्था गर्नुपर्ने बताएको छ ।

लोकतन्त्र ‘चुनावदेखि चुनावसम्मको गोलचक्कर’ मात्रै नभएको नेकपा संयुक्तले व्याख्या गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘हरेक निर्वाचनले जनताको जीवनमा नयाँ सम्भावनाको ढोका खोल्दैन भने लोकतन्त्रले गति लिँदैन । त्यसका लागि राजनीतिक दलको मुख्य भूमिका हुन्छ ।’