घोषणापत्र सच्याउन सुझाव


-रञ्जनकुमार दाहाल

पुराना र नयाँ दलहरुको घोषणा पत्र पढियो । पुरानाले त हामीलाई मान्छे नै गन्दैनन्, त्यसैले सिकाउन र केही भन्ने हैसियत नै भएन । त्यहाँमाथि सबै घोषणापत्र जेनेरिक मात्र छ । तर नयाँ दलको चाहिँ घोषणापत्र सच्याउन सुझाव दिन्छु ।

यि कुरा मा गहन भएर सोचौः
नेपालमा ५ वर्षमै प्रतिव्यक्ति आय १,४५० डलरबाट ३,००० डलर र विद्युत ३,५०० मेगावाटबाट १५,००० मेगावाट पुर्याउने कुरा सुन्दा राम्रो लाग्छ, तर गणित र क्षमताबाट हेर्दा समस्या देखिन्छ। ३,००० डलर पुग्न करिब १७% प्रतिव्यक्ति आय वृद्धि चाहिन्छ, नेपालको जनसंख्या वृद्धि १% छ र त्यसैले चाहिने GDP growth झण्डै १८% प्रति वर्ष गर्नुपर्छ, जुन विश्वका तीव्र विकास गरेका देशहरूले पनि हासिल गरेका छैनन् । नेपालले दीर्घकालमा ४–६% मात्र वृद्धि गरेको अवस्थामा यस्तो लक्ष्य राजनीतिक चाहना हुन सक्छ, तर यथार्थपरक योजना मान्न गाह्रो हुन्छ । विद्युतमा पनि ५ वर्षमा थप ११,५०० मेगावाट निर्माण गर्न अहिलेको भन्दा ७–८ गुणा छिटो काम, अर्बौँ डलर लगानी र प्रशासनिक संरचनाको ठूलो रूपान्तरण चाहिन्छ, जुन हालको प्रणालीले र वनसँग सम्भावित कानुनले सम्भव देखाउँदैन।

यसको अर्थ ठूलो लक्ष्य राख्नु गलत होइन, तर समय, क्षमता र प्रक्रियालाई बेवास्ता गरेर घोषणा गर्नु गलत सोच हो । राजनीतिक चमत्कारिक उछाल खोज्नु भन्दा स्थिर सुधार आवश्यक हुन्छ । यथार्थमा राम्रो नीति, स्थिरता र लगानी वातावरण बन्यो भने नेपालले ७–८% आर्थिक वृद्धि हासिल गर्न सक्छ र ५ वर्षमा प्रतिव्यक्ति आय झण्डै २०००–२२०० डलर पुग्न सक्छ। विद्युत क्षेत्रमा वर्षमा ६००–८०० मेगावाट थप्दै करिब ७,०००–९,००० मेगावाट पुग्नु सम्भव हुन्छ, जसले भारततर्फ विद्युत निर्यात सुरु गराएर व्यापार घाटा घटाउन मद्दत गर्छ। साथै उत्पादन र निर्यात बढाउने, कृषि उत्पादकत्व सुधार्ने र युवाको विदेश पलायन घटाउने काम नै वास्तविक प्रगतिको बाटो हो ।

त्यसैले ठिक बाटो ठूलो सपना देख्नु हो तर गणित मिलाएर, चरणबद्ध लक्ष्य राखेर र संस्थागत क्षमता बढाएर अघि बढ्नु हो, गलत सोच भनेको भावनामा आधारित लक्ष्य घोषणा गरेर वास्तविक सुधारलाई ओझेलमा पार्नु हो । यसैले यस्तो लक्ष्यलाई प्रेरणादायी राजनीतिक दृष्टिकोण (political vision) भनेर लिन सकिन्छ, तर यथार्थपरक कार्ययोजना (credible plan) भने मान्न गाह्रो हुन्छ। राजनीति भाषणमा सम्भव देखिए पनि आर्थिक र पूर्वाधार वास्तविकतामा अत्यन्त कठिन छ । पुरानाहरुले त यस्ता कुरा कहिले नै बुझ्दैन थिए, हेरौँ नयाँले कसरी लिन्छन !