काठमाडौँ । जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो ।
महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।
आइतबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे अघि सकिएको थियो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा शुक्रबारदेखि नै सुरु भएको भक्तजनको चहलपहल आज बिहानसम्म पनि कायम रहेको छ । राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म पनि भक्तजन लाइनमा बसेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन् ।
विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति पनि लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उहाँले बताउनुभयो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

प्रतिक्रिया