‘बालेन साहहरु अचुक औषधि हुन्’ भन्ने भाष्यप्रति सहमत हुन पटक्कै सकिन्न !


-चन्द्र भण्डारी ।

विश्लेषक निलाम्बर आचार्यले एक पत्रकारसँग हालैको एक अन्तरवार्तामा भन्नुभयो, ‘केपी ओली सबैभन्दा शक्तिशाली र आत्मबल भएका नेता हुन् । यो चुनावमा प्रजातान्त्रिक शक्तिभन्दा बाहिरका शक्तिहरु उनलाई सिध्याउन लागेकाछन्, यो राम्रो संकेत होइन ।’

निलाम्बरजीका बिचार असत्य होइनन ध्रुव सत्य नै हो । तर श्रद्धेय अध्यक्ष ओलीलाई एउटा काल खण्डले शक्ति दियो, सामथ्र्य दियो र दियो आत्मबल । तर, त्यही कालखण्डले सधैं प्रश्न गरिरहन्छ, त्यो के भने केपी ओली झापा किसान विद्रोहबाट उठेर यहाँसम्म आउनुभएको हो । जुन जगबाट उठ्नुभयो तर त्यो जग शिलान्यास गर्ने र त्यो जग निर्माण गरेर एउटा वैभव स्थापना गर्नेहरु बर्तमान एमालेको अस्तित्वमा किन भेटिँदैनन्, कहाँ गए ती जग खन्ने र वैभव ठड्याउने सहयात्रीहरु ?

मोहनचन्द्र अधिकारी, सीपी मैनाली, आरके मैनाली, झलनाथ खनाल, नरेश खरेल, घनेन्द्र बस्नेत, नारद वाग्ले, मनकुमार गौतम, भीष्म धिमाल, दधिराम उप्रेती, हर्क खड्का, कृष्ण सेडाईं, ठूलो दुर्गा अधिकारी, सानो दुर्गा अधिकारी, सीता खड्का, लीला कट्टेल(दिवंगत), मनकुमार तामाङ, अम्मर अधिकारी, धर्म घिमिरे, अम्बर कार्की, डिगेन राजवंशी, छविल राजवंशी, सोममर्डी सतार, मुकुन्द न्यौपाने, केदार न्यौपाने, मङ्गलमर्डी सतार, पानवीर विश्वकर्मा, प्रेम उप्रेती, मङ्गलमणि सुनुवार जस्ता सयौं क्रान्तिकारीहरु जो झापा विद्रोहमा प्रत्यक्ष संलग्न भएर १७/१८ वर्षसम्म जेल सजाय भोग्नेहरु हून वा बर्षौंसम्म भूमिगत बस्नेहरु आज किन नेकपा एमाले बाहिर छन् ? फेचासिंह राजवंशी लगायत कतिपय मरेर गए तिनका परिवार बेहाल अवस्थामा छन् । सहादत दिनेहरु औपचारिकताका निम्ति खादा माला प्राप्त गर्दै होलान् तर तिनका परिवारप्रतिको जवाफदेहिता कोसँग छ ?

२०३९ सालको काण्ड प्रकाण्डबाट प्रताडित एउटा ठूलो बौद्धिक र निष्ठावान इमान्दार फौज पार्टीभित्र ढिम्किन पाउँदैन । तिनीहरु माथिको हिंसाको जवाफ कोसँग छ ? भेडा र अर्नाका जत्थाको उत्पातले परिवर्तन सम्भव छैन । कहाँगए ती साँस्कृतिक अगुवाहरु जसले झापा विद्रोहदेखि लामोसयसम्म हजारौं चुनौतीहरुलाई परास्त गर्दै यो पार्टीको धुरी निर्माण गरे, तिनकै साहित्य, गीत संगीत र साधना आजसम्म उपयोग भैरहेको छ तर, तिनको योगदानको किन अवमूल्यन भयो र किन अटाउन सकिएन तिनलाई पार्टी भित्र ? जस्ता प्रश्नको जवाफ समयले मागिरहेको छ ।

निलाम्बर आचार्यहरुको विश्लेषणसँग असहमति होइन तरःअअ जस्ता दर्जनौं राष्ट्र घात देशभित्र स्वागत गर्नेहरु को को थिए समयले त्यसको हिसाब पनि खोज्दैछ । यसको मत्लब बालेन साहहरु अचुक औषधि हुन् भन्ने भाष्यप्रति सहमत हुन पटक्कै सकिन्न,उनीहरु परीक्षामा उत्तीर्ण हुन्छन् भन्ने आधार छैन ।

कमरेड केपी ओलीलाई निर्वाचनमा शुभकामना छ तर आन्तरिक जीवनका प्रश्नहरुले इन्साफ पाएनन् भने निर्वाचनको विजय पराजयभन्दा एमालेले कठोर परिस्थिति भोग्न बाँकीनै हुनेछ । त्यो परिस्थितिले हामीलाई अवस्य दुख्नेछ,पोल्नेछ किनभने हाम्रो रगत र पसिना त्यहीँ छ ।

व्यक्ति विशेषका हर कार्यक्रम, हर बोली, हर चाल, हर इशारा र हरेक मुद्धालाई समर्थन गर्ने कार्यकर्ता नेतृत्वका रुपमा स्थापित हुँदैगए त्यहाँ तानाशाहको पुनर्जन्म हुनेछ, नतिजा राम्रो निस्कनेछैन । ताजा भाषणमा प्रचण्डले भनेजस्तै “अर्को चुनावमा एमाले सिद्धिन्छ“ भन्नू त आफू सिद्धिएर दिइएको श्रापमात्र हो । एमालेको जग खन्नेहरु देशभक्त थिए,देश भित्रबाटै आन्दोलनको बीउ छरेका थिए । विदेशमा बसेर देशलाई हिर्काएर रगतपच्छे बनाउने कर्मबाट यहाँसम्म आएका होइनन् । विश्लेषकहरुले बुझून्, एमाले कुनै व्यक्ति होइन, चोखो पसिना र रगतले निर्मित एउटा साहसिक र सामूहिक शक्ति थियो । आज त्यो अवस्था ओह्रालो लागेको भए तापनि सच्चिनै सक्तैन भन्ने विश्लेषण नगर्नु नै राम्रो होला ।