नाारायण पौडेल
– एमाले र केपी ओली बिरुद्ध बिष वमन गरिएको भन्दै रामकुमारी झाँक्री नराम्रोसँग झोक्किएको सुनियो । केपी ओली र एमालेप्रति आमरुपमा घृणा फैलाउन झाँक्रीको जत्ति भूमिका सायदै अरुको छ । केपी ओलीबारे उनका भाइरल भिडियो इन्टरनेट दुनियाँमा छरपष्ट छन् । पहाडमा ढिंडो समेत खान नपाएर झापा झरेको, ८ फेल, भगौडा, शिखण्डी, अनपढ, गवार, अर्काको गोरु चराउन बसेको हली आदि इत्यादि गैरराजनीतिक टिप्पणी औपचारिक÷ अनौपचारिक मञ्चमा रामकुमारी बाहेक अरु राजनीतिक नेताबाट आजसम्म सुनिएको छैन ।
–रामकुमारी झाक्री कोठा कोठामा पुगेर बिदेशमा रहेका नेपालीको हालत र हैसियत हेरेको दाबी गर्छिन् । उनी किन कोठा कोठा पुगिन् ? किनभने उनलाई उनको पार्टीले विदेशमा रहेका नेपालीलाई एमाले बनाउन खटाएको थियो । विदेशमा रहेका एमालेजनको प्रायोजनमा पार्टी निकटको कोठा पुग्दैमा विदेशमा रहेका सबै नेपालीको हैसियत देखेको भ्रममा झाँक्री रैछन् । सायद उनले भेटेका मान्छे भाँडा माझ्ने मात्र रैछन्, त्यसैले भन्छिन्– विदेशमा भककाडा माझेर यहकका ठूलो कुरा गर्ने ?
–समुन्द्र पार रहेका अधिकांश नेपालीले भाँडा माझ्ने काम गर्दैनन्, भाँडा माझ्नै परेपनि अधिकांशलाई अफ्ठ्यारो लाग्दैन । किनकी विदेशी ‘बुर्जुवा’ शिक्षा र जीवन व्यवहारले चन्दाबाट जीवन चलाउनु र जिब्रो फड्कार्नु भन्दा मेहनत गरि खानु राम्रो भन्ने सिकाउने रहेछ । हाइस्कुल ताका समर भ्याकेसनमा २÷३ महिना प्रायजसो विद्यार्थी रेष्टुरेष्टमा काम गर्न जान्छन्, पकेट मनि बनाउँछन् । सो कामपनि उनीहरुको पाठ्यक्रमको अंग बन्दछ । तिनै केटाकेटी पछि देशको उच्च तहमा पुग्छन्, भाँडा माझ्ने (किचन हेल्पर÷डिस पर्सन)लाई उँचो व्यबहार गर्छन् । रामकुमारीले जीवनमा सायदै पारिश्रमिक लिने गरी श्रम गरेकी छन् । तसर्थ श्रमबारे बेसरम बोल्न सक्छिन् ।
–श्रम र श्रमजिवीको नाममा राजनीति गर्ने रामकुमारी विदेशमा बसेर भककाडा माझेर ठूला कुरा गर्ने भन्दै हकार्छिन् । यिनको चेतनाले भन्छ– भाँडा नमाझ्ने हैसियतवालाहरुले विदेशमा बसेर नेपालमा राजनीतिक धन्दा चलाइरहन पाइन्छ । एमालेको महाधिवेशनमा विदेशको नागरिकता लिइसकेका व्यक्ति प्रतिनिधि भइ सहभागी भएको अस्तिमात्रै हो । नखोजिएको मात्र हो, विदेशी नागरिकता र पिआर भएका ब्यक्ति अहिलेको निर्वाचनमा पनि उम्मेदवार छन् ।
–सबैजसो देशमा प्रवास कमिटी भएको पार्टी एमाले हो । झाँक्रीलगायतका दलीय नेताहहरुको विदेश भ्रमणको खर्चपानी तिनै र त्यस्तै कमिटीले गर्छन् । आवरणमा सामाजिक संस्थाको रुपमा देखिने यस्ता कमिटीले सम्बन्धित देशको कानून विपरित राजनीतिक गतिविधि गरिरहेका छन् । विदेशमा रहेको कामरेडले पठाइदिएको लिपिस्टिक लगाएर उसैले पठाइदिएको आइफोन भिरेर उसैले काटिदिएको टिकटले विदेश घुमेर उसैलाई सत्तो सराप गर्न कति सकेको !
–झाँक्रीको मार्ग निर्देशक सिद्धान्त जबज र पार्टीका अन्य दस्ताबेजले समेत विदेशमा रहेका नेपालीलाई मताधिकार दिने भन्दछन् । नेपाल कहिलै नदेखेका नेपाल कहिलै नटेकेका माक्र्स र लेनिनको नाममा खोलिएको पार्टीमा राजनीति गरेकी झाँक्रीले बुझ्नुपर्छ– नेपालमा जन्मेका, नेपालमा हुर्केका र नेपालले नै राहदानी दिएर विदेशिएका मैया र लिलाहरु नेपालबारे सास रहुञ्जेल निरपेक्ष रहन सक्दैनन् ।
–विदेशमा श्रम स्वीकृति लिनु भनेको आवसीय अनुमति लिनु हो । आवसीय भिषा (चलनचल्तिमा पिआर÷ग्रीनकार्ड) नभइ कुनै पनि देशमा शशरीर उपस्थित भएर काम गर्न पाइँदैन । खाडी होस् कि जापान, अमेरिका होस् कि बहराइन–कुरा उही हो, भिषाको नाम र भिषासँग सम्बन्धित भोगाधिकारमात्र केही थपघट हो । अन्यथा श्रम स्विकृति भनेकै आवसीय प्रवेशाज्ञा भनि बुझ्नुपर्छ । झाँक्रीले खाडी मुलुकमा रहेका नेपालीलाई त राजनीतिक अधिकार नदिनु पर्ने हो भनेको त्यही कारण हो। रेमिट्यान्सले मुलुक चलेको छ । त्यही मुलुक चलाउछु भनि राजनीति गरिरहेकी रामकुमारी झाँक्रीले रेमिट्यान्स पठाउने नेपालीलाई मुख नचलाउनु भनि धम्काएकी हुन् ।उनले ओली सामू मुखमा पट्टी बाध्न मञ्जुरनामा गरिन् भन्दैमा सबैले उनका सामू मुखाबन्दी गर्छन् भन्ने हुन्छ ?
–सही पनि एमालेमै पनि एमाले भन्दै विदेशमा बाह्र हात उफ्रने नेपालीहरुले चेत्नुपर्छ– आफूहरुको स्वाभिमान रत्तिभर रैनछ ! देशै छाड्न सक्ने तर एमाले, माओवादी, कांग्रेस, माले, रास्वपा, मसाल छाड्न नसक्ने बडो ठूलो रोग हामी नेपालीको छ । रामकुमारी झाँक्रीले त्यही रोगको झारफुक गर्न खोजेकी हुन् भनेर खुशी हुने पनि छन् । तर, जो बोक्सी उही धामी हुँदा उपचार बल्झिने रैछ । झाँक्रीले प्रवास कमिटी गठन गर्दै हिडेकी हुन् भन्ने बिर्सन हुन्न । अमुक नेताको बाइपोलार डिसअर्डर सामाजिक अर्डर खलबलाउने तहमा पुग्नु राम्रो होइन । यसबारे सम्बन्धित पार्टीले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया