सिङ्गो पश्चिमी गोलार्द्ध हल्लाउने एप्सटाइनसम्बन्धी फाइल


-नारायण गाउँले ।

कुख्यात् यौन–अपराधी जेफ्री एप्सटाइनसम्बन्धी फाइलले यतिबेला सिङ्गो पश्चिमी गोलाद्र्ध हल्लाएको छ । सबैभन्दा ठूलो भुइँचालोको रूपमा बेलायती प्रधानमन्त्रीको कुर्सी नै जान सक्ने देखिँदै छ । वर्षौंसम्म पैसा, राजननीतिक शक्ति र पहुँचको भरमा अमेरिकामा अपराधको ठूलो सञ्जाल खडा गरेको जेफ्री एप्सटाइनको सम्बन्ध राष्ट्रपतिदेखि व्यापारी र बेलायतको राजघरानासम्म फैलिएको देखिन्छ । अमेरिकी शेयर बजारबाट कारोबार सुरु गरेको उसले फ्लोरिडादेखि भर्जिन आइल्याण्डमा एउटा सिङ्गो आइल्याण्ड नै आफ्नो बनाएको थियो । त्यहाँ नाबालिकादेखि विभिन्न महिलाहरूलाई यौनकर्मी बनाएर शोषण गर्ने गरेको अपराध नै उसको मुख्य अपराध हो । आफ्नै प्राइभेट जेटमा विभिन्न व्यक्ति र बालिकालाई आफ्नो आइल्याण्ड लैजाने र कुकर्म गर्ने गरेको अपराधमा सन् २००८ मा ऊ दोषी ठहर भएको थियो ।

सन् २००५ मा एप्सटाइनमाथि राज्यस्तरमा छानबिन सुरु भएको थियो । सङ्घीय निकायलाई समेत छानबिन र मुद्दा दर्ता गर्न लगाइएको थियो । तर २००८ मा न्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउनु नपर्ने भनेर छुट दियो । राज्यस्तरको अदालतबाट छोटो सजाय पाएर ऊ मुक्त भयो । प्ली डील भनिने यो सम्झौता अमेरिकी इतिहासकै ठूलो कलङ्क थियो । यति गम्भीर मुद्दामा चलिरहेको छानबिन रोक्नु र मुद्दा दर्ता नगर्ने निर्णय गर्नु दुर्भाग्यपूर्ण थियो ।

थुप्रै पीडित र घटनाक्रम बाहिरिन थालेपछि एघार वर्षपछि सन् २०१९ मा बल्ल एप्सटाइनमाथि सङ्घीय अमेरिकी सरकारले मानवतस्करी र यौन अपराधको मुद्दा चलाएको थियो । त्यही साल जेलभित्रै उसको रहस्यमय ढङ्गले मृत्यु भयो । आत्महत्या भनिए पनि त्यो निकै विवादित रह्यो । आफ्ना प्रमाण दबाउन ऊ मारिएको भन्ने अनुमान पनि चल्यो । एप्सटाइन फाइलसँग डोनाल्ड ट्रम्पदेखि बिल क्लिन्टन र बेलायती राजकुमार एन्ड्रयूदेखि इजरायली पूर्वप्रधानमन्त्री एहुद बाराकसम्म सयौं ठूला नामहरू जोडिएको देखिन्छ । राजनीतिज्ञदेखि वैज्ञानिकसम्म उसको सम्पर्क या कल रेकर्डमा देखिएका छन् ।

आज एप्सटाइन फाइल भनेको एफबीआईले छानबिन गर्दा जम्मा गरेको हजारौँ पाना डकुमेन्ट हो । ठ्याक्क एउटा फाइल होइन । यसमा निजी जहाजका यात्री विवरणदेखि उसका इमेल र उसले आयोजना गरेका साइन्स सम्मेलनसम्मका अतिथिहरूको नाम र तस्बिर सम्मिलित छ । यसमा अदालतका टिप्पणी र आदेश पनि संलग्न छ । यो फाइलकै आधारमा सबैलाई दोषी भन्नचाहिँ मिल्दैन । उसको आर्थिक व्यवसाय र अन्य गतिविधि पनि निकै ठूलो भएकाले धेरै मानिस जोडिएका पनि हुन सक्छन् । प्रसिद्ध वैज्ञानिक स्टेफन हकिंग्सको नाम पनि त्यहाँ देखिन्छ । सबै फाइल अझै सार्वजनिक नभएको आरोप पनि छ ।
रोचक के छ भने यो फाइलसँग सोझै नाम गाँसिएका डोनाल्ड ट्रम्पलाई केही फरक नै परेजस्तो छैन तर नाम नजोडिएका ब्रिटिश प्रधानमन्त्री सर कियर स्टारमरको कुर्सीचाहिँ यही फाइलका कारण सङ्कटमा छ । पर्याप्त त नहोला तर बेलायती राजनीतिमा नैतिक मानदण्ड अमेरिकाभन्दा उच्च छ ।
भयो के भने पीटर म्याण्डलसन भन्ने ठूलो राजनीतिज्ञ र पूर्वमन्त्रीलाई गतसाल अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो । जेफ्री एप्सटाइनसँग गहिरो मित्रता र गतिविधि सार्वजनिक भएपछि गत सेप्टेम्बरमै उनलाई राजदूतबाट हटाइएको थियो ।म्याण्डलसन मन्त्री हुँदा थुप्रै सरकारी र व्यावसायिक सूचना एप्सटाइनलाई चुहाएको आरोप पनि छ । बेलायती प्रधानमन्त्रीले पर्याप्त छानबिन र ध्यान नपुर्याई उनलाई राजदूतमा नियुक्त गरेको कारण नै अहिले प्रधानमन्त्रीको लागि सङ्कट बनेर आएको छ । एप्सटाइनसँग म्याण्डलसनको सम्बन्धबारे पहिल्यै समाचार बाहिर आएको भए पनि प्रधानमन्त्रीले पर्याप्त ध्यान नदिएको आरोप छ । तर उनले आफूलाई थाहा नभएको र थाहा हुनेबित्तिकै हटाएको दाबी गरेका छन् । उनले यो नियुक्तिका लागि आई एम सरी भनिसकेका छन्, तर दबाब रोकिएको छैन ।

त्यस्तो गलत व्यक्तिलाई नियुक्त गर्नेसँग देश चलाउने र निर्णय गर्ने क्षमता कसरी हुन्छ भन्ने आरोप छ । अहिले उनका नजिकका सल्लाहकारहरूले राजीनामा दिने क्रम सुरु भएको छ । नैतिक प्रश्नमा यहाँ विपक्षीले भन्दा बढी पार्टीभित्रैबाट दबाब आउँछ । सरकारी च्यानल बीबीसीले प्रधानमन्त्रीविरुद्धका समाचार बजाएको बजायै छ । सदनमा यो मुद्दा चर्को बन्दै छ । आफ्नै दलका नेताले राजीनामा दिनुपर्ने बताउँदै छन् । केही सदस्यचाहिँ उनको पक्षमा उभिएका छन् । उनको जागीर जान्छ कि जाँदैन भन्ने हेर्न केही दिन कुर्न पर्ला ।

हामीचाहिँ भ्रष्ट, अपराधी या ठगसँग उठबस या सम्बन्ध भएकै आधारमा कोही अनैतिक हुन्छ भन्ने त मान्दैनौं भने त्यस्तो व्यक्तिलाई नियुक्त गर्ने तेस्रोले नैतिकता देखाउने भन्ने टाढाको कुरो भयो । अमेरिकामा पनि यस्तो नैतिकताको प्रश्न मजाक जस्तै सुनिने रहेछ ।