‘निर्वाचन जनता र राष्ट्रका लागि’ अभियान–२०८२ घोषणा


काठमाडौं । नेपाल प्रथम राष्ट्रिय अभियानले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ’निर्वाचन जनता र राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

अभियानले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, मर्यादित र जनअपेक्षाअनुसार सम्पन्न गराउन नागरिक सचेतना र जिम्मेवार राजनीतिक संस्कृतिको विकास आवश्यक रहेको जनाएको छ ।

अभियानद्वारा जारी विज्ञप्तिमा नेपाललाई आत्मनिर्भर, स्वाभिमानी, संस्कृतिसम्पन्न र सुशासनयुक्त राष्ट्रका रूपमा विकास गर्ने लक्ष्यसहित नागरिकमा ’नेपाल प्रथम’को भावना जागृत गराउने उद्देश्य राखिएको उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार अभियानले नेपालीहरूको इमान्दारिता, परिश्रम र सिर्जनशीलतालाई सकारात्मक राष्ट्रनिर्माणमा प्रयोग गर्न प्रेरित गर्ने तथा सामाजिक उत्तरदायित्व र नागरिक सचेतना सुदृढ बनाउन निरन्तर प्रयास गर्नेछ ।

देशमा लामो समयदेखि देखिएको भ्रष्टाचार, बेरोजगारी, असुरक्षा र वैदेशिक पलायनका कारण समाजमा बढेको निराशालाई सकारात्मक दिशामा रूपान्तरण गर्न आवश्यक रहेको अभियानको ठहर छ । विशेषगरी युवाहरूमा देखिएको असन्तुष्टि र परिवर्तनको मागलाई राष्ट्रनिर्माणतर्फ उन्मुख गराउन अभियानले भूमिका खेल्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा राजनीतिक दलहरूलाई घोषणापत्र निर्माण गर्दा जनताको वास्तविक आवश्यकता, आकांक्षा र समस्यालाई समेट्न सुझाव दिइसकेको जानकारी दिइएको छ । साथै निर्वाचनमा सहभागी हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूलाई राष्ट्र र जनताप्रति जिम्मेवार बनाउनका लागि ९ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर अभियान अघि बढाइने जनाएको छ ।

अभियान कुनै पार्टी वा व्यक्तिविशेषका लागि नभई राष्ट्रहित केन्द्रित नागरिक अभियान भएको उल्लेख गर्दै निर्वाचनपछि पनि सामाजिक खबरदारी, अनुगमन र दायित्वबोधका कार्यहरू निरन्तर सञ्चालन गरिने बताइएको छ ।

नेपाल प्रथम राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक नारायण प्रसाद ढकालले नेपाललाई सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथको देशको आदर्श पहिचानअनुसार अघि बढाउनुपर्ने बताएका छन् । उनले गोरखनाथको विचार र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकताको दृष्टिकोणलाई आधार मानेर अभियान सञ्चालन गरिने उल्लेख गरे ।

ढकालले विगतका दशकौँको अनुभवलाई आत्मसात् गर्दै अभियानलाई आम नेपालीको साझा अभियानका रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार युवाले चाहेको परिवर्तन, शहिदहरूको सपना र नागरिक अपेक्षालाई सम्बोधन गर्दै दीर्घकालसम्म नेपाललाई एक आदर्श राष्ट्रका रूपमा स्थापित गर्ने उद्देश्यले अभियान अघि बढाइएको हो ।

अभियानलाई देशभरका ७७ वटै जिल्लामा चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको जनाउँदै संयोजक ढकालले यसको सफलताका लागि सबै पक्षको सहयोग, सहकार्य र सकारात्मक भूमिका आवश्यक रहेको बताए ।