अब नेपालकै ग्यास निकालेर पानीजसरी ट्यांकीमा राख्ने र घरघरमा पाइपबाट पुर्याउने होः केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गुइँठा बाल्ने सोचबाट माथि उठ्नुपर्ने बताएका छन् । सोमबार झापामा चुनावी घरदैलो अभियानका क्रममा अध्यक्ष ओलीले गुइँठा बाल्ने सोचबाट माथि उठ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कोही कोही अझै गुइँठा बाल्नुपर्छ भन्छन् । त्यो पछौटेपन हो । अब त्यो होइन, अब देशमा ग्याँस उत्पादन गरेर बाल्नुपर्छ ।’

अध्यक्ष ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताए । उनले दैलेखमा ग्यास उत्खनन् गरेर घरघरमा वितरण गर्न सकिने बताए । उनले आफू सरकारबाट हटेपछि ग्यास निकाल्ने काम थाती रहेको बताए।

उनले भने, ‘अब नेपालमै ग्यास निस्कँदैछ । अब विदेशबाट ल्याएको ग्यास होइन । अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ । दैलेखको ग्यास निकालेर पानीजस्तो ट्यांकीमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन ।’

 अध्यक्ष ओलीले भावना बगेर मतदातालाई भ्रम पार्न खोजिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘यस्तो कुरामा सेन्टिमेन्ट बहने होइन । कुनै पनि कुरालाई बंग्याएर गलत अर्थ नलाइयोस् । भावनामा बगेर अघि जान सकिँदैन ।’

यसअघि २०७४ को चुनावी अभियानका क्रममा घरघरमा ग्यासको पाइप पुर्यान्छ भन्दा निकै आलोचित बनेका थिए ।