कृष्ण अधिकारी, काठमाडौँ । पछिल्लो समय आत्मकथा लेख्ने लेखाउने क्रम बढ्दै जाँदा अधिकांशले आफ्नो वास्तविक पक्षभन्दा बनावटी प्रसङ्गलाई बढी प्राथमिकता दिएर लेखिएका पुस्तकहरू बजारमा धेरै पाइन्छ । यसमा अपवादको रूपमा रहेको कृति हो ‘एक फिरन्तेको चट्याङे जीवन’ । श्याममोहन श्रेष्ठको आत्मकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ नेपाली आत्मकथात्मक साहित्यमा फरक स्वाद र धार बोकेको कृति हो । यो पुस्तक केबल लेखकको व्यक्तिगत जीवनकथा मात्र नभई नेपाली समाज, राजनीति, पत्रकारिता र बौद्धिक यात्राको जीवन्त अभिलेख हो ।
आत्मकथा लेख्नु आफैँमा ज्यादै खतरनाक रहर हो । आफ्नो मात्र प्रशंसा गरेर लेख्दा पाठक खुसी नहुन सक्छन् भने आफूलाई इमान्दार भएर लेख्दा चिनजानका अधिकांश मानिसहरू पक्कै खुसी हुने छैनन् । आत्मकथा लेखनका यस्ता समस्यालाई पनि पन्छाउँदै श्याममोहन श्रेष्ठले आफ्नो जीवनका यथार्थतालाई इमानदारीपूर्वक राखेका छन् । यस किसिमको लेखनीले नेपालको सामाजिक ज्ञानको भण्डारलाई फराकिलो बनाउँछ । यो आत्मकथाको प्रमुख विशेषता यसको इमान्दार प्रस्तुति हो ।
पुराना पर्यटन व्यवसायी श्याममोहनको यस जीवनकथामा करिब ५० वर्षअघि आफ्नो युवावस्थामा गरेको रोमाञ्चक एवं साहसी काठमाडौँ–पेरिस–काठमाडौँ स्थलयात्राको विवरण र सोसँग जोडिएका प्रसङ्गहरूलाई छर्लङ्ग पारिएको छ । पुस्तक आत्मकथा मात्रै नभएर यात्रा, प्रेम, रोमान्स, अनुभूति र आत्मखोजको रोमाञ्चक दस्ताबेज बनेको छ । पुस्तकका लेखकले आफ्नो जीवनलाई खुला पुस्तकका रूपमा प्रस्तुत गरेका छन् । समाजले कोरेका ठीक, बेठीक आदि नैतिक परिधिको साँधसीमामा नबाँधिइकन निर्धक्कपूर्वक लेखिएको यस पुस्तकले आत्मकथा लेखनमा नयाँ आयाम ल्याएको छ । महत्वाकांक्षी सोच राख्ने लेखकले जीवनका घटना र अनुभवलाई कति पनि नलुकाइकन राखेकै कारण पुस्तकले जीवन्तता पाएको छ ।
अत्यन्त सहज रूपमा आफ्नो जीवनका सबै घटनालाई साहसपूर्वक खुलेर लेखिएको यसले उपन्यासको झझल्को दिन खोजेको छ । आफ्नो जीवनलाई खुला पुस्तकका रूपमा प्रस्तुत गरेको र समाजले कोरेका ठीक, बेठीक आदि नैतिक परिधिको साँधसीमामा नबाँधिइकन लेखेको बताउने लेखकमा लेखकीय परिपक्व नवीन शैली पाउन सकिन्छ । उतारचढावमय जीवनकथाका सप्तरंगीहरूलाई सरल ढङ्गबाट प्रस्तुत गरिरहँदा धेरै ठाउँमा ऐतिहासिक प्रसङ्गहरूलाई उल्लेख गर्न छुटाएका छैनन् । उनका पुराना मित्र विद्वान् केदारभक्त माथेमाले पुस्तकमा पुस्तकमा श्याममोहनले जीवनका रङहरू सबै पोखिने गरी लेखेको र ती मनोहर रहेको बताएको उल्लेख गरेका छन् । उनी भन्छन्, ‘लेख्न त धेरैले लेख्छन् तर यति धेरै खुलेर, अन्तरङ्ग कुराहरू खुल्ने गरी कमै व्यक्तिले लेख्न सक्छन् ।’
साहसिक पेरिस यात्रासँग जोडिएको यस पुस्तकमा नेपाल–फ्रान्स सम्बन्धका अनेकन पाटाहरू उजिल्याएको छ । झण्डै ३० वर्ष एयर फ्रान्समा काम गरेका उनले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई जनस्तरमा र्फैलाउन उत्तिकै भूमिका खेलेको पाइन्छ । नेपाल–फ्रान्स सम्बन्धमा विशेष भूमिका खेलेवापत उनले सन् २०१९ मा फ्रान्स सरकारको सर्वोच्च नागरिक सम्मान ‘सभालियँ दँ लोर्द नेसियोनाल द ला लेजियों दो–नोर्’ प्राप्त गरेका उनी नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्षसमेत हुन् । साथै, काभ्रेको धुलिखेलमा मिराबेल होटल खोलेर पर्यटन व्यवसायमा उत्तिकै महत्त्वपूर्ण योगदान रहेको छ ।
यो पुस्तकले युवा पुस्तालाई सुरक्षित बाटोभन्दा असहज तर सत्यको खोजमा निस्कन प्रेरित गर्छ । समाजमा आफ्नो स्थान खोज्न सङ्घर्ष गरिरहेका युवा पुस्ताका लागि अत्यन्त उपयोगी यस पुस्तक जीवनमा निरन्तर अगाडि बढ्ने तर कहिल्यै हार नमान्नेको जीवनकथा बनेको छ । पढ्न थालेपछि नसकुन्जेल छाड्न नसकिने गरी पठनीय बनाउन सक्नुले लेखकीय क्षमतालाई देखाउँछ । पुस्तकको अद्योपान्त अध्ययन गर्दा उनको जीवन प्रारम्भदेखि नै सङ्घर्ष, खोज र प्रश्नले भरिएको छ ।
पुस्तकमा लेखकको फिरन्ते स्वभाव केवल भौगोलिक यात्रासँग सीमित छैन, विचार, दर्शन र जीवन दृष्टिकोणमा समेत अस्थिर देखिन्छ । समग्रमा, यो पुस्तक एउटा व्यक्तिको आत्मकथा मात्र नभई एउटा समय, प्रवृत्ति र चेतनाको कथा पनि हो भन्ने आधारहरू धेरै छन् ।
पुस्तकको अङ्ग्रेजी संस्करण ‘एन ओभरल्यान्ड ओडिसी’ ल्याएर अङ्ग्रेजी पाठकलाई समेत सहज पारेका छन् । आफ्नो जीवनको आरोह, अवरोहका बारेमा भावी पिंढीलाई थाहा दिन नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित छ । दुवै पुस्तकमा झण्डै आठ दशक लामो जीवन यात्राका रोचक–घोचक प्रसङ्गहरू इमान्दारीपूर्वक समेटिएका छन् । यी पुस्तक आत्मकथा मात्रै नभएर यात्रा, प्रेम, रोमान्स, अनुभूति र आत्मखोजको रोमाञ्चक दस्तावेजको रूपमा लिन सकिन्छ । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको नेपाली पुस्तकको मूल्य ७९९ र अङ्ग्रेजीको मूल्य ५९९ रूपैयाँ रहेको छ ।

प्रतिक्रिया