बलिदान दिनेहरू किन सधैं शंकाको घेरामा ?


जेपी गुप्ता ।

नेपाली समाजको राजनीतिक र सामाजिक परिदृश्यमा एउटा गहिरो र दोहोरिँदो विडम्बना छ—सीमान्तकृत समुदायबाट उदाएका नेताहरूको संघर्षले राष्ट्रलाई निर्णायक मोडमा पुर्याउँछ, तर तिनै नेताहरू सधैं शंकाको दृष्टिले हेरिन्छन्। उनीहरूलाई कहिले देशघाती, कहिले विखण्डनकारी, त कहिले ‘विदेशी प्रभावका प्रतिनिधि’को आरोप लगाइन्छ। यो प्रवृत्ति कुनै संयोग होइन, यो नेपाली समाजमा गहिरोसँग गाडिएको पूर्वाग्रही, अवसरवादी र असमावेशी मानसिकताको परिणाम हो। गजेन्द्र नारायण सिंहदेखि मधेस आन्दोलनका अगुवाहरू हुँदै आजका युवा नेताहरू—बालेन साह र गगन थापासम्म—यो दुष्चक्र निरन्तर दोहोरिइरहेको छ। यसले एउटा गम्भीर प्रश्न उठाउँछः हामी कस्तो राष्ट्र निर्माण गर्दैछौं, जहाँ बलिदान दिनेहरू नै सधैं लान्छित हुन्छन् ?

गजेन्द्र नारायण सिंहः समावेशिताको आवाज र शंकाको राजनीति

गजेन्द्र नारायण सिंह मधेसी अधिकार, पहिचान र प्रतिनिधित्वका अग्रणी व्यक्तित्व थिए। उनको राजनीतिक यात्रा १९४७ मा नेपाली कांग्रेसबाट सुरु भयो। तर पञ्चायती शासनकालमा मधेसीहरूमाथि संस्थागत विभेद र ‘विदेशीकरण’को विरोध गर्दा उनी मूलधारबाट अलगिन पुगे। सन् १९८५ मा उनले नेपाल सद्भावना परिषद् (पछि पार्टी) स्थापना गरी नागरिकता समस्या, भाषा अधिकार र मधेसी प्रतिनिधित्वलाई संस्थागत एजेन्डा बनाए। दमनकारी पञ्चायती व्यवस्थामा पनि उनले शान्तिपूर्ण संघर्ष रोजे—जातिवाद, भ्रष्टाचार र बहिष्करणविरुद्ध अडिग रहे।

तर पहाड–केन्द्रित राष्ट्रवादी सोचले उनलाई सधैं शंकाको घेरामा राख्यो। कम्युनिस्ट, कांग्रेसका केही गुट र पूर्वपञ्चहरूबाट उनलाई ‘विखण्डनकारी’को आरोप लागिरह्यो, जबकी उनको संघर्ष नेपालको एकता र समावेशिताकै पक्षमा थियो। यसको मूल कारण मधेसीहरूप्रति रहेको गहिरो पूर्वाग्रह थियो—तराईका नागरिकलाई ‘विदेशी’ वा ‘भारतीय प्रभावमा परेको’ ठान्ने मानसिकता।

विडम्बना के छ भने, ‘गज्जू बाबु’ भनेर होच्याइएका सिंहको महत्त्व समाजले उनको मृत्युपछि मात्र बुझ्न थाल्यो। सन् २००२ मा उनको निधनपछि सद्भावना पार्टी कमजोर हुँदै गयो र मधेसी मुद्दाहरू ओझेल परे। जीवनकालमा प्रयोग गरिएका आरोपहरू आज लगभग मौन छन्—तर यो मौनता सम्मान होइन, राजनीतिक आवश्यकताको उपज हो। सिंहको जीवन नेपाली समाजको दर्पण हो, जसले हाम्रो पाखण्ड, अवसरवाद र असमावेशी चरित्र स्पष्ट देखाउँछ।

मधेस आन्दोलनः उपलब्धि र निरन्तर अपमान

गजेन्द्र नारायण सिंहले तयार पारेको वैचारिक जगमै उभिएर मधेस आन्दोलनहरूले नेपाललाई संघीय गणतन्त्रसम्म पुर्याए । माओवादी जनयुद्ध (१९९६–२००६) ले पहिचानको प्रश्नलाई तीव्र बनायो। २००६ को शान्ति सम्झौता र अन्तरिम संविधानले संघीयता र समावेशितालाई उपेक्षा गरेपछि २००७ मा पहिलो मधेस आन्दोलन विस्फोट भयो। उपेन्द्र यादवको नेतृत्वमा सुरु भएको आन्दोलनमा ५४ जनाको ज्यान गयो। २२–बुँदे सम्झौताले संघीयता र समानुपातिक प्रतिनिधित्वको प्रतिबद्धता जनायो, तर कार्यान्वयन भएन। यसैको परिणामस्वरूप २००८ मा दोस्रो मधेस आन्दोलन भयो, जसमा ८–बुँदे सम्झौता भयो र थप बलिदान भए। सन् २०१५ को संविधानले मधेसलाई विभाजित गर्दा तेस्रो मधेस आन्दोलन भयो। महिनौं चलेको आन्दोलनमा सयौं नागरिक मारिए, देश आर्थिक संकटमा फस्यो।यति ठूलो योगदान हुँदाहुँदै पनि मधेसी नेतृत्वमाथि ‘देशघाती’, ‘विखण्डनकारी’, ‘सिक्किमीकरणका संवाहक’ जस्ता आरोप रोकिएनन्। यो पहाड–केन्द्रित राष्ट्रवादको परिणाम थियो, जसले मधेसी संघर्षलाई सधैं शंकास्पद बनायो।

बालेन साहः स्वीकार्य हुँदा नायक, चुनौती बनेपछि ‘बाहिरी’

यो दुष्चक्रको आधुनिक उदाहरण बालेन साह हुन् । काठमाडौं महानगरका मेयर बनेका बालेन मधेसी मूलका हुन्, तर उनको जितको समयमा यो पहिचान मुख्य विषय बनेन। उनी ‘स्वतन्त्र’, ‘विकासप्रेमी’ र ‘पुराना दलविरोधी’ पात्रका रूपमा स्वीकारिए। तर जब उनले स्थापित सत्ता संरचनालाई चुनौती दिन थाले, तब सामाजिक र राजनीतिक पाखण्डको मुखौटा खस्यो। उनको थर ‘शाह’बाट ‘साह’ बनाइयो, पहिचानलाई हतियार बनाइयो, र ‘विदेशी शक्तिको प्रतिनिधि’को आरोप थोपर्ने प्रयास गरियो। यो आलोचना वैचारिक होइन—घृणित जातीय पूर्वाग्रह हो। हिजो पहिचान लुकाइएको थियो, आज त्यही पहिचानलाई आक्रमणको साधन बनाइएको छ।

पीडितबाट पीडकतर्फः मधेसी नेतृत्वको आत्मविरोध

झनै चिन्ताजनक पक्ष के हो भने, यही आलोचनामा केही मधेसी नेताहरू पनि सामेल छन्। उपेन्द्र यादव, सिके राउत, मातृका यादव—यी सबै नेताहरू स्वयं पहाडी–केन्द्रित सत्ता संरचनाबाट लान्छित हुँदै आएका पात्र हुन्। तर आज उनीहरू नै बालेनको मधेसी पहिचानमाथि प्रश्न उठाउँदै उभिएका छन्। यो आलोचना होइन, आत्मविरोधी पाखण्ड हो। हिजो आफूलाई लागेको आरोप आज अर्कामाथि थोपर्नु मधेस आन्दोलनकै नैतिक आधारलाई कमजोर बनाउने काम हो।

युवा नेतृत्वमाथि नियोजित प्रहारः बालेन र गगन

बालेन साह र गगन थापा—यी दुवै युवा नेताहरूले राजनीतिक सुधारको आवाज उठाएका छन् । गगन थापाले पार्टीभित्रैबाट सुधारको माग गर्दा कारबाही झेल्नुपर्यो, बम आक्रमणसम्म सामना गर्नुपर्यो । बालेन साहमाथि मिडिया ट्रायल, अपुष्ट षड्यन्त्र सिद्धान्त र चरित्रहत्या भइरहेको छ। यी सबैले एउटा सत्य देखाउँछ—पुराना शक्ति संरचनाहरू आफ्नो अस्तित्व संकटमा परेको महसुस गर्दा सुधारकहरूलाई बदनाम गर्न एकजुट हुन्छन्।

समावेशिता बिना राष्ट्रियता खोक्रो हुन्छ

गजेन्द्र नारायण सिंहको शान्तिपूर्ण संघर्ष, मधेस आन्दोलनका बलिदान, बालेन साहको विद्रोही नेतृत्व र गगन थापाको सुधारवादी आवाज—यी सबैले एउटै पाठ सिकाउँछन् समावेशिता बिना राष्ट्रिय एकता सम्भव हुँदैन। यदि हामी साँच्चै परिवर्तन चाहन्छौं भने पहिचानलाई हतियार होइन, शक्ति बनाउनुपर्छ, र पाखण्डको राजनीति अन्त्य गर्नुपर्छ। अन्यथा, यही विषाक्त मानसिकताले हाम्रो लोकतन्त्रलाई भित्रैबाट निल्नेछ।