जाबो गाडी त आफैँ किन्न नसक्ने हामीले घोषणापत्र लेख्दै गर्दा विचार गर्नुहोला, कसरी मुलुक बनाउने ?


-नारायण गाउँले ।

भारतले चुनाबका लागि ५०० भन्दा बढी गाडी सहयोग गरेको छ । हाम्रो धरातल यही हो । देशका प्रायः सबै प्रहरी कार्यालय र गाडी जलेका छन् । कार्यालय जलेका छन् । गाडी नभई सुरक्षा दिन सकिन्न । मतपत्र ओसारपसार गर्नेदेखि ‘र्यापिड रेस्पोन्स’ गर्न गाडी त चाहियो । जाबो गाडी त आफैँ किन्नु नि ! भन्न सकिन्छ तर त्यो गाडी किन्ने पैसा भएको भए स्वास्थ्यबीमामा खर्च गरेर त्यसलाई बचाउन सकिन्थ्यो । त्यो एक लाखबाट बहिरङ्ग सेवाको हकमा भर्खरै २५ हजारमा खुम्चिएको छ । एक लाखसम्म दिन्छु भनेर प्रिमियम उठाउने र २५ हजारभन्दा बढी दिन्न भन्नु ठगी हो । अझ सरकारले रकम उपलब्ध गराउन नसकेकाले स्वास्थ्य बीमा नै सङ्कटमा देखिन्छ ।

भारतले बजेटमै नेपालका लागि १२ अर्ब रुपैयाँ जति अनुदान छुट्याएको रहेछ । फागुन २१ को चुनाव गर्न मात्रै ३१ अर्ब जति खर्च हुने अनुमान प्रधानमन्त्रीले गर्नुभएको थियो । ११ अर्ब जति पैसाको अभावमा स्वास्थ्य बीमा खुम्चिएको रहेछ ।

जसले घोषणापत्र लेख्दै हुनुहुन्छ, विचार गर्नुहोला । आमजनतालाई ठूला ठूला आश्वासनमात्रै बाँड्दै जाने तर देशको वास्तविक स्रोत र क्षमताबारे नबोल्ने पद्धतिले नै आजको चरम निराशा जन्मिएको हो । अहिलेको स्थितिमा देशको राजश्व जति चालू खर्चमै सकिने र विकासका लागि ऋण र अनुदान लिनै पर्ने बाध्यतालाई बुझाउनुहोला । ऋण लिन पर्छ भन्ने थाहा पाएपछि छोराछोरीले आइफोनको डिमाण्ड नगर्न पनि सक्छन् । दश–बीस वर्षमा सिङ्गापुर बनाउँछौँ भन्ने, मिति तोकेर घरघरमा ग्यास पाइप र उत्तरदक्षिण रेल कुदाउँछौँ भन्ने, विदेशका गल्लीमा पोस्टर टाँसेर मान्छे फर्काउँछौँ भन्ने तर त्यसका लागि के गर्छौँ र कसरी गर्छौँचाहिँ नभन्ने खालको घोषणापत्रको काम छैन ।

संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि दर भएपनि दशबीस वर्षमा देश सिङ्गापुर बन्दैन । ठूलो औद्योगिक क्रान्ति नै भए पनि विदेश गएका जतिलाई दशबीस वर्ष फर्काउन सकिन्न । चालीस लाख मान्छे बाहिर भएको अनुमान छ । त्यत्रो ठूलो श्रमबजार देशमा निर्माण गर्न कसरी सम्भव होला ? धेरैमा युवाहरूलाई विदेश जान रोक्ने हो । संसारभर रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले हो । उद्योगपति र व्यवसायीले हो । तिनलाई नै शत्रु र सामन्त देख्ने हाम्रो मानसिकता छ । एउटा उद्योगमा आगो लाग्दा हाम्रो ईगोमा शीतल हावा चल्छ । यो फेर्ने गरी लेख्नुहोला ।

१५ खर्बमाथिको व्यापारघाटा तत्काल पूरा गर्न कुनै ठूलो चमत्कारबाहेक अर्को उपाय छैन । र यो ग्याप रेमिटेन्सबाहेक अर्को स्रोतले तत्काल भरिन्न । देश टाट नपल्टिन पनि वैदेशिक रोजगारी महत्त्वपूर्ण र आवश्यक छ भन्ने बुझ्नुभएकै छ, बुझाउने गरी लेख्नुहोला मन्त्री बनेकै दिन नयाँ श्रमसम्झौता गर्न पर्ने अवस्था छ ।

झन्डै एक दशक लामो गृहयुद्ध र चरम राजनैतिक अस्थिरता भोगेर पनि एउटा भूपरिवेष्ठित देशको अर्थतन्त्र आजसम्म उभिएको छ । कति देश धराशायी भएका छन् । यसमा नीतिनिर्मातादेखि विदेशमा श्रम बेच्ने नागरिकसम्मलाई धन्यवाद दिँदै उभिने मात्रै होइन, अब दगुर्ने खालको अर्थतन्त्र कसरी निर्माण गर्न सकिन्छ भन्ने ठोस योजना र आधार लेख्नुहोला ।

यो देशको ठूलो समस्या भनेको आफ्नो साधनस्रोतभन्दा ठूलो अपेक्षा र महत्त्वाकाङ्क्षा पनि हो । आधार र योजनाबिनै बेचिएका ठूला सपना पनि हो । सपना गलत होइन, तर त्यसले निराशा ल्यायो भने कति ठूलो दुर्घटना हुन सक्छ भन्ने त देख्नुभयो होला । देश जस्तो छ त्यस्तै देखिने गरी लेख्नुहोला !