काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस सोच, शैली र संकल्प बदलेर आएको बताएका छन् ।
बुधबार साँझ भिडियो सन्देश जारी गरी सभापति थापाले आफूहरु नयाँ सोचका साथ आएको बताएका हुन् । उनले नयाँको अर्थ पुरानोसँग सम्बन्धविच्छेदको अवस्था रहेको बताए।
उनले भने, ‘कांग्रेस बदलिएको भनेको सोच, संकल्प र यसको शैली बदलिएको हो । नयाँ भन्नुको अर्थ पुरानोसँग सम्बन्धविच्छेद भएको भनेको हो? पटक्कै होइन ।’
उनले बदलिएको कांग्रेसले हिजोको कांग्रेसका कतिपय राम्रा कुराहरूलाई अघि बढाउने बताए । उनले बदलिएको कांग्रेसले अब पार्टी र देश यसरी चलाउँछौं भनेर मार्गचित्र प्रस्तुत गर्ने बताए ।
उनले भने, ‘हिजोका गल्तीहरूलाई सच्याउने हो। र अब पार्टी र देश यसरी चलाउँछौं भनेर मार्गचित्र प्रस्तुत गर्ने हो ।’
उनले बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिल्यै नराख्ने बताए । सभापति थापाले सत्तामा पुग्न र सत्ता टिकाउनका लागि जे पनि गर्ने र जोसँग पनि मिल्ने कांग्रेसले अब नगर्ने बताए ।
उनले भने, ‘बरू आनन्दले सरकार बाहिर बस्छ । सत्तामा बस्न जे पनि गर्दैन । हामी फेरि कांग्रेसलाई त्यही ट्रयाकमा ल्याउँछौं।’

प्रतिक्रिया