हामी स्मृतिसँग उभिन्छौं कि सत्ताको छायाँमा हराउँछौं ?


–जेपी गुप्ता ।
गाब्रियल गार्सिया मार्केसको ‘सय वर्षको एकान्तता’ मा एउटा भयावह सत्य उद्घाटित हुन्छ—यदि सत्ता चाह्यो भने पूरै समुदायको स्मृति नै मेटाउन सक्छ। मैकोन्डोको केरा कम्पनी हत्याकाण्डमा हजारौँ मजदुरको रगतले भिजेको भूमिलाई राज्यसत्ताले ‘केही भएको थिएन’ भन्ने प्रचारद्वारा शून्य बनाइदिन्छ। समयसँगै त्यो झूट सामूहिक सत्यमा रूपान्तरण हुन्छ, र जनताको स्मृति हराउँदै जान्छ। यो केवल साहित्यिक कल्पना होइन, यो सत्ताको सार्वकालिक दर्शन हो। इतिहास लेख्ने कलम सधैं विजेताको हातमा रहन्छ, पराजितहरूको स्मृति भने अँध्यारोमा धकेलिन्छ।

नेपालको इतिहास पनि यही दर्शनको पुनरावृत्तिले बनेको छ। सत्ताले दमनका रगतले लेखिएका पृष्ठहरू मेटाउन खोज्यो, प्रचारको मसीले नयाँ कथा कोर्यो। तर स्मृति कागजमा होइन—रगत र आँसुले लेखिन्छ । यही कारण स्मृति कहिल्यै पूर्णतः मर्दैन। तथापि, नेपाली समाजको एउटा कमजोर प्रवृत्ति—भुल्ने र स्वीकार गर्नेले हामीलाई बारम्बार इतिहासकै दुष्चक्रमा फर्काइरहेको छ।

यो प्रवृत्तिको प्रारम्भिक उदाहरण १९०३ विक्रम संवत् (१८४६ ई.) को कोत पर्व हो। जंगबहादुर कुँवर र उनका भाइहरूले हनुमानढोकाको कोतमा करिब चार दर्जन उच्च पदस्थ अधिकारी र सैनिकहरूको निर्मम हत्या गरी सत्ता कब्जा गरे। रगतको आहालमा डुबेको राजसत्ता तरबारको बलमा हत्याइयो, र त्यसैको परिणामस्वरूप १०४ वर्षे राणा शासन स्थापना भयो। शाह वंश औपचारिक शासकमा सीमित बन्यो। तर आज जंगबहादुर नेपाली समाजमा ‘राष्ट्रनिर्माता’ को छविमा प्रस्तुत छन्। ‘जंगबहादुर जस्तो मान्छे चाहियो’ भन्ने अभिव्यक्ति हाम्रो सामूहिक विस्मृतिको प्रमाण हो। हत्या र दमनको स्मृति मेटाइयो, किनकि सत्ताले त्यसलाई नियोजित रूपमा पुनर्लेखन गर्यो ।

राजा महेन्द्रको शासनकालमा पनि यही क्रूरता दोहोरियो। वि.सं. २०१८ मा चितवनको भरतपुर र तनहुँको बन्दीपुरमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई घेराबन्दी गरी हत्या गरियो, कतिपयका शवहरू सामूहिक खाल्टोमा गाडिए। लोकतन्त्रको स्वर दबाउन सत्ता कति निर्दयी हुन सक्छ भन्ने यो स्पष्ट प्रमाण थियो। तर पञ्चायती प्रचारतन्त्रले यसलाई ‘अराष्ट्रिय तत्वको दमन’ को नाम दियो। ३२ वर्ष लामो निरंकुश यात्रामा पूरा देश एउटा खुला कारागारमा रूपान्तरित भयो। आज महेन्द्र ‘राष्ट्रियताका प्रवद्र्धक’ को रूपमा स्मरण गरिन्छ; भरतपुरको रगत इतिहासका पानाबाट धमिलो बनाइयो ।

पञ्चायतकालीन अँध्यारो युगमा ओखलढुंगा काण्ड, सुखानी जंगल र पिस्करका घटनाहरू सत्ताको दमनकारी चरित्रका प्रतीक हुन् । वि.सं. २०३१ मा ओखलढुंगामा आत्मसमर्पण गरिसकेका राम र लक्ष्मण उपाध्यायलाई गोली हानी हत्या गरियो। त्यसअघि, वि.सं. २०१८ मा पूर्वी पहाड लिम्बुवान क्षेत्रमा भूबिक्रम नेम्बाङको नेतृत्वमा भएको सशस्त्र प्रतिरोधका क्रममा सात जनालाई आफैं खाल्टो खन्न लगाएर गोली हानियो। इलामको देउराली आज पनि ‘सातखाल्टे’ नामले चिनिन्छ—हराउँदै गएको स्मृतिको एउटा मौन स्मारक ।

वि.सं. २०२९ मा सुखानी जंगलमा कम्युनिस्ट कार्यकर्ताहरूको सामूहिक हत्या भयो । रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेलजस्ता युवाहरूको रगतले जंगल रङ्गियो। वि.सं. २०४० मा पिस्करमा सांस्कृतिक कार्यक्रममा गोली चल्दा सात निर्दोष ग्रामीणको मृत्यु भयो। गीत, नाटक र अभिव्यक्तिसँग डराउने सत्ता विरोधको स्वरलाई गोलीले चुप लगाउन चाहन्थ्यो। यी सबै घटनामा राज्यले एउटै भाष्य निर्माण गर्यो—’विद्रोह थियो, दमन आवश्यक थियो।’ यसरी पीडालाई इतिहासबाट विस्थापित गरियो।

दमन केवल राज्यबाट मात्र भएन । कथित झापा विद्रोहका नाममा केही कम्युनिस्ट समूहहरूले पनि निरपराध व्यक्तिहरूको व्यक्ति–लक्षित हत्या गरे। नक्सलबारी आन्दोलन र चिनियाँ सांस्कृतिक क्रान्तिबाट प्रेरित यो हिंसामा ‘वर्ग शत्रु’ को अवधारणा प्रयोग गरियो। केपी शर्मा ओली, सीपी मैनाली, राधाकृष्ण मैनालीलगायत नेताहरू यससँग जोडिए। पञ्चायतले यसलाई दबायो, कतिपय कम्युनिस्ट मारिए, कतिपयले लामो जेल सजाय भोगे । तर समयसँगै सत्ता र भाष्य फेरियो—हत्या ‘विद्रोह’ र ‘क्रान्ति’ मा रूपान्तरण भयो । दक्षिण एसिया र भारतमा यस्ता आरोपले कम्युनिस्ट शक्तिहरू समाप्त भए; नेपालमा भने उनीहरू ‘राष्ट्रवादका संरक्षक’ को आवरणमा पुनः–पुनः सत्तामा पुगे। वि.सं. २०५१ देखि १० वर्ष चलेको माओवादी हिंसा पनि यही निरन्तरताको अर्को अध्याय हो।

आधुनिक नेपालको सबैभन्दा भीषण घटना राजदरबार हत्याकाण्ड हो। राजा वीरेन्द्रसहित सम्पूर्ण राजपरिवारको दरबारभित्रै हत्या भयो। विश्व स्तब्ध भयो, नेपाली समाजको एउटै माग थियो—निष्पक्ष छानबिन। तर त्यो कहिल्यै पूरा भएन। अनुसन्धानको नाममा राज्यले एउटा अविश्वसनीय कथा निर्माण गर्यो, र समाज क्रमशः मौन बन्यो। ‘हाम्रो राजा जिन्दावाद’ का नाराले सत्यको खोजलाई ढाकिदियो। सामूहिक चेतना फेरि एकपटक पराजित भयो।

यो क्रम अझै रोकिएको छैन। मधेस आन्दोलन (२०६४ र २०७२) मा सयौँ प्रदर्शनकारी मारिए। राज्यले यसलाई ‘अशान्ति दमन’ को रूपमा चित्रित ग¥यो। हालसालै, भाद्र २३, २०८२ को जेन्जी विद्रोहमा निहत्था विद्यार्थीहरू मारिए। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उठेको युवाको आवाजलाई गोलीले जवाफ दिइयो। दोस्रो दिनको आगजनीलाई बहाना बनाएर राज्यले फेरि उही कथा दोहोर्यायो—’केही भएको थिएन।’ यो मार्केसको मैकोन्डो दोहोरिएको क्षण थियो।

आज बालेन साह र गगन थापा जस्ता युवा नेताहरूको उदयले यो स्मृतिविरुद्धको संघर्षलाई नयाँ दिशा दिएको छ। उनीहरूले माओवादी हिंसा र पुराना राजनीतिक अपराधमाथि प्रश्न उठाए। यही कारण उनीहरू नियोजित राजनीतिक र गैरराजनीतिक प्रहारका निशाना बनेका छन्। बदनाम गर्ने अभियान, कारबाही, लाञ्छना—यी सबै पुराना शक्तिहरूको अस्तित्व संकटको लक्षण हुन्। तर यही संघर्षले अम्नेसियाको गणतन्त्रलाई जवाफदेही लोकतन्त्रतर्फ डोर्याउने सम्भावना बोकेको छ।

दार्शनिक रूपमा, यो स्मृतिको सार्वभौमिक युद्ध हो। प्लेटोले भनेझैं विजेताहरूले इतिहास लेख्छन्, तर नेपालमा सत्ता इतिहास मात्र लेख्दैन—स्मृति नै मेटाउँछ। प्रचार, शिक्षा, सञ्चार सबै हतियार बन्छन्। हामीले जंगबहादुरलाई नायक बनाएर कोत पर्व बिर्सियौं, महेन्द्रलाई राष्ट्रियताको प्रतीक बनाएर भरतपुर बिर्सियौं, र आज जेन्जीका सपनाहरूलाई ‘अराजकता’ भन्दै मेटाउँदैछौं। यो भुल्ने संस्कृति होइन—सत्ताको जित हो।
तर स्मृति अमर हुन्छ। स्मृति प्रतिरोधको बीज हो। मार्केसको मैकोन्डोजस्तै नेपालको स्मृति पनि हावाले उड्दैन—यो जमिनमा जरा गाडेर बाँच्छ। प्रश्न केवल यत्ति हो—हामी स्मृतिसँग उभिन्छौं कि सत्ताको छायाँमा हराउँछौं?