चुनावपछि बन्ने सरकारले चियाबारी–खुर्कोट सुरुङ मार्ग जस्ता परियोजना अघि बढाउने हैसियत राख्ला ?


-रञ्जनकुमार दाहाल ।

बिपी राजमार्गको चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण गर्नु अब विकल्प नभई राष्ट्रिय पूर्वाधारको अपरिहार्य आवश्यकता भइसकेको छ, किनकी बिपी राजमार्गको सिन्धुली बजार–खुर्कोट खण्ड नेपालको सबैभन्दा रणनीतिक तर भू–प्राविधिक रूपमा अस्थिर सडक खण्डमध्ये एक हो। हालको खुर्कोट–सिन्धुलीगढी उकालो भागको तीव्र मोड, ठाडो स्लोप, कम डिजाइन गति (करिब ३० किमी÷घण्टा) र बारम्बार हुने पहिरोका कारण काठमाडौं–पूर्वी तराई मात्र होइन, रामेछाप, दोलखा र सिन्धुली क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा दीर्घकालीन अवरोध बनेको छ।

प्रस्तावित करिब ५.५ किलोमिटर लामो दुई लेनको सुरुङ, खुर्कोट नजिक (Portal I) बाट सुरु भई चियाबारी बस स्टप नजिक (Portal II) निस्कने गरी निर्माण गरिएमा भौगर्भिक रूपमा सक्रिय र जोखिमयुक्त पहाडी क्षेत्र पूर्ण रूपमा छलिनेछ, जसले यात्रा दूरी र समय उल्लेखनीय रुपमा घटाउने र वर्षैभरि भरपर्दो यातायात सुनिश्चित गर्नेछ।

यो सुरुङ खुर्कोटमै अवस्थित मध्यपहाडी (पुष्पलाल) राजमार्गसँग प्रत्यक्ष जोडिने हुँदा रणनीतिक सडक का रूपमा विकास हुन सक्नेछ, जसले मध्यपहाडी राजमार्गबाट आउने सवारीलाई बिना अवरोध बिपी राजमार्ग हुँदै तराईतर्फ छिटो र सुरक्षित रूपमा यात्रा गर्न सम्भव बनाउनेछ, र यसले पूर्वी तराई–काठमाडौंलाई एउटै सुदृढ यातायात सञ्जालमा जोड्नेछ। विशेषगरी रामेछाप जिल्लाका लागि तराईसँग प्रत्यक्ष, सुरक्षित र द्रुत सम्पर्क मार्ग स्थापना भई धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटन गन्तव्यहरूमा पर्यटक आगमन बढ्नेछ भने दूध, तरकारी, फलफूल र जडीबुटीजस्ता कृषि उत्पादन तराईका बजारसम्म छिटो, सस्तो र न्यून क्षतिसहित पुर्याउन सकिनेछ।

सुरुङ आसपासको भूगर्भीय अवस्था मुख्यतया मेटास्यान्डस्टोन, सिष्ट र फिलाइट चट्टानबाट बनेको छ, जुन उपयुक्त चट्टान वर्गीकरण, सपोर्ट प्रणाली र भुमिगत पानी निकास व्यवस्थासहित सुरुङ निर्माणका लागि प्राविधिक रूपमा सम्भव छ, र परियोजनामा Portal I तर्फ करिब २.५ किलोमिटर तथा Portal II तर्फ करिब ३.५ किलोमिटर पहुँच मार्ग समावेश गरी निर्माण, सञ्चालन र आपतकालीन व्यवस्थापन सुनिश्चित गर्न सकिन्छ। परियोजनाको अनुमानित लागत करिब २५ अर्ब रुपैयाँ रहेको भए पनि यो लागत नेपाल सरकारको आन्तरिक स्रोत, जस्तै बहुवर्षीय राष्ट्रिय गौरव आयोजना बजेट, सडक मर्मत कोष, इन्धन पूर्वाधार कर तथा आन्तरिक ऋण संयोजनमार्फत चरणबद्ध रूपमा व्यवस्थापन गर्न सकिने देखिन्छ, जसले वैदेशिक ऋण निर्भरता घटाउनेछ । सुरुङ सञ्चालनमा आएपछि टोल प्रणालीमार्फत लागत पुनःप्राप्ति र दिगो सञ्चालन सम्भव हुनेछ, जहाँ हलुका, मध्यम र भारी सवारीका लागि फरक टोल दर निर्धारण गरी मर्मत, सुरक्षा, सञ्चालन र व्यवस्थापन खर्च धान्न सकिनेछ ।

दीर्घकालीन रूपमा पहिरो नियन्त्रण खर्च न्यूनीकरण, दुर्घटना जोखिम घटाउने, समय र इन्धन बचत तथा पर्यटन र कृषि अर्थतन्त्रबाट प्राप्त प्रतिफललाई मूल्याङ्कन गर्दा चियाबारी–खुर्कोट सुरुङ मार्ग काठमाडौं–पूर्वी तराई जोड्ने बहुआयामिक विकास कोरिडोर र बिपी राजमार्ग तथा मध्यपहाडी राजमार्गको दिगोपन सुनिश्चित गर्ने राष्ट्रिय महत्वको पूर्वाधार परियोजना हुनसक्छ। प्रतिफललाई मूल्याङ्कन गर्दा चियाबारी–खुर्कोट सुरुङ मार्ग काठमाडौं–पूर्वि तराई जोड्ने बहुआयामिक विकास कोरिडोर र बिपी राजमार्ग तथा मध्यपहाडी राजमार्गको दिगोपन सुनिश्चित गर्ने राष्ट्रिय महत्वको पूर्वाधार परियोजना हो भन्दा फरक नपर्ला ! के आगामी चुनाव पछि बन्ने सरकारको यस्ता परियोजनाको बारेमा सोचेर काम गर्न सक्ने हैसियत होला त ?