-डा. गोविन्दशरण उपाध्याय ।
एकजना पण्डितले गाईको बाच्छी दानमा पाए । त्यो निकै सुन्दर र राम्रो ब्रिडको थियो । गाउँका तिन–चारजना युवा मिलेर कोरली हत्याउने निर्णय गरे । बाटोका फरकफरक गौंडामा तैनाथ भए । पहिलो गौंडाको मान्छेले भयो ‘ब्राह्मणदेव, यो बोको त निकै राम्रो रहेछ । ब्राह्मणका लागि बोकाको के काम । ब्राह्मणले गाईको कोरलीलाई पुलुक्क हेरे । केही बोलेनन् । आफ्नो बाटो हिँडिरहे ।
दोस्रो गौंडाका आयो । त्यहाँ अर्को युवक भेटियो । उसले ब्राह्मणलाई नमस्कार गर्यो र भन्यो ‘बाजे ! यो बोको त निकै सुन्दर रहेछ । बोको बेच्ने भए म किन्छु । ब्राह्मणको मनमा सन्देह भयो ‘कही यो बोको नै त होइन ?’ उनले बाच्छीलाई राम्ररी हेरे । सुमसुम्याए र अगाडी बढे ।
तेस्रो गौंडामा अर्को युवक भेटियो । उसले निकै सभ्यतापूर्वक भन्यो ‘ब्राह्मणदेव ! हजुरलाई बोकोको कुनै काम छैन । यो बेच्ने भने मैले उचित मूल्य दिन्छु । यो पाली भने ब्राह्मणको बुद्धि चक्करायो । उनको मन भ्रमित भयो । सबैले बोको देख्ने तर मैले चाहीं बाच्छी देखें ! अव उनको मनमा निकै चिसो पसेको थियो ।
चौथो गौंडामा अर्को युवक भेटियो । उसले ब्राह्मणका गोडा ढोक्दै भन्यो- गुरूजी ! बोको निकै असल जातको रहेछ । मलाई बेच्नुहुन्छ भने भनेको मूल्य दिन्छु ! अब भने ती ब्राह्मणलाई भ्रममात्र होइन विश्वास पनि भैसकेको थियो कि उनले दानमा प्राप्त गरेको पशु “बोका नै हो भन्ने विश्वास“ भैसकेको थियो । अनन्तः उनले त्यो गाईको बाच्छीलाई छोडेर हिँडे । आफ्नो आँखाले देखेको सत्यलाई भ्रम ठाने र अरूले रोपेको असत्यलाई सत्य ठाने ।
अहिलेको नेपाली मानसिताको विकासको गतिथिति विचार गर्दा यो कथासँग धेरै मिल्छ । आजको कुरा होइन, नेपाली राजनीतिक नेतृत्वले सधैं अर्को नेतृत्वलाई नाङ्गो पार्न गौडागौंडामा आ–आफ्ना मान्छे खटाए । ती सबैले उभिएर अर्काको सत्यसँग खेलवाड गरे । कुरा बुझ्नेले विपक्षीको ‘मानसिक खेल’ भन्दै सोही प्रकारका गौंडाहरू स्थापित गर्यो । एकले अर्कोलाई ‘बोको’ नै सावित गरिरहे र गरिरहेका छन् । देशमा हेर्दा लाग्छ, कुनै पनि र कहीं पनि “गाईको बाच्छी देख्ने र भेट्ने नेता र कार्यक्रता छैन ।
मिडिया ‘बोको–बिजिनेश’को दाम्लो बनेको छ । सोसल–मिडियाहरूलाई बाच्छीलाई बोको बनाउने होड नै चलिरहेको छ । विश्वभरी डीप–फेकको चलिरहेको छ । यी लहरका अगाडी कुनै पनि व्यक्ति ‘बाच्छी’का रूपमा स्थापित हुन सकिरहेको छैन । यदि नेपालका सबै नेता, कार्यक्रता र कार्यदिशाहरू ‘विदेशी, विदेशका एजेन्ट, देश–बेचुवा’ हुन् भने स्वदेशी को हो ? बास्तविकता हो ‘सबै गाईका बाच्छीनै हुन् तर एकअर्काले एकअर्कालाई ‘बोको बनाउने’ अभियान चलिरहंदा “बोको“ बन्न पुगेका छन् । रह्यो, भोटदाता अर्थात् जनताको कुरा, जनताहरू गहिरो–भ्रममा छन् । नेपाली नागरिकका रूपमा उनीहरू ‘डीप–फेक’का लागि बाध्य पारिएका छन् ।
नेताहरूले एकअर्कालाई ‘बोको’ बनाउने अभियानले कुनै पनि सद्दे रहन नसकेको यथार्थ हो । राजा पृथ्वीनारायण शाहजस्ता इतिहास निर्माण गरेको स्वर्गीय व्यक्ति पनि सम्पूर्ण नेपालीहरूको ‘एकताको प्रतिक’ रहन नसक्नु ‘बोको मानसिकताको भ्रमपूर्ण उदाहरण हो ।
आजको स्थिति यस्तो छ कि भोट खसाल्दै गर्दा एउटा आम नागरिकको मनमा ‘मैले ठीक–बेठीक, विदेशी–एजेन्ट वा स्वदेशी बाच्छी’ कस्तो व्यक्ति वा पार्टीलाई भोट खसाली रहेको छु’ भन्ने विषयमा तत्थ्यपूर्ण जानकारी हुने छैन । रह्यो कुरा देश–विकासको – २००७ साल देखि एताका कुनै पनि राजनैतिक दल वा व्यक्तिले यस विपरित बोलेका छैनन् । सबैले देश–निर्माणको सङ्कल्प गरे । त्यसका लागि जूटे तर सफल भएनन् । आफ्नो असफलताको दोष अर्कामा थोपरे ! यहीबाट ‘बोकावादी’ प्रवृत्तिको विकास र विस्तार भयो ।
सायद नेपाली समाजमा झुटको व्यापार गर्नेहरू र आफ्नो सही व्यापारलाई धेरैले झूटो भनेर बोल्दै गर्दा त्यही झूटमा विश्वास गर्नेहरूको संख्या बढिरहेको छ । सकिन्छ भने, राजनैतिक दलहरू मिलेर आपसमा एकअर्कालाई बोका बनाउने र नाङ्गो नपार्ने सम्झौता गर्नुपर्छ । एकअर्कालाई झूटो देखाउने अभियानले सबैभन्दा बढी नोकसान जनतालाई हुन्छ र पार्टीहरुको नेतृत्वमा अविश्वास बढ्दा तेस्रो पक्षले प्रत्यक्ष हस्तक्षेप गर्छ । केवल भोटका लागि ‘गाईको बाच्छीलाई बोको बनाउने’ पापकर्म त्यागौं ।

प्रतिक्रिया