तनहुँ-२ मा उज्यालो नेपालका उम्मेदवार गुरुङको उम्मेदवारी फिर्ता, रास्वपालाई सघाउने


तनहुँ । तनहुँ क्षेत्र नम्बर–२ मा उज्यालो नेपाल पार्टीकातर्फबाट चुनावी मैदानमा उत्रिएका मनराज गुरुङले उमेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार निर्वाचन अधिकृतकको कार्यालय पुगेर उनले उम्मेदवारी फिर्ता लिएका हुन् । उनको नाम उमेदवारी सूचीबाट हटाइएको निर्वाचन अधिकृतको कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ । उनले रास्वपाका उम्मेदवार न्यौपानेलाई समर्थन गर्ने बताएका छन् ।

तनहुँ–२ मा १२ जनाले उमेदवारी दर्ता गराएका थिए । तनहुँ–२ को चुनावी मैदानमा अब नेपाली कांग्रेसका शंकर भण्डारी, नेकपा (एमाले)का केदार सिग्देल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का श्रीराम न्यौपाने, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सोमबहादुर थापा (एसबी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का यामबहादुर खाँण ठकुरी छन् ।

उम्मेवारी फिर्ता लिँदै गुरुङले भनेका छन्, ‘नेपालको हरेक राजनीतिक विद्रोहपछि सबैको अपेक्षा हो सुशासन र तीव्र आर्थिक वृद्धि । मूलधारमा रहेका राजनीतिक पार्टी र नेताहरूको त्याग र बलिदानबाट नै आजको राजनीतिक व्यवस्था सहितको उपलब्धी भएको हो । व्यवस्था त बदलियो तर जनताको अवस्था बदलिन सकेन । त्यसैको असन्तुष्टिको विष्फोट स्वरुप जेनजी विद्रोह भयो । जेनजी विद्रोहको जगमा आसन्न फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ, जसमा मैले पनि उम्मेदवारी दिएको थिएँ । नवयुवाहरुको त्याग र वलिदानबाट हुँदै गरेको निर्वाचनबाट केही दर्जन पार्टीबाट सांसद निर्वाचित हुने, हिजोकै जस्तो सत्ता खिचातानी र अस्थिर राजनीतिको भूमरीमा पुनः देश पुग्ने हो भने जेन्जी बिद्रोह र पुस्तान्तरणको औचित्य पुष्टी हुन सक्दैन । त्यसैले मेरो उम्मेदवारीले नयाँहरू बीच नै प्रतिस्पर्धा हुने र फेरि पनि पुरानाहरुलाइनै दोहोरिन फाइदा पुग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु । सहिदहरुको बलिदानको सम्मान र आर्थिक समृद्विको सपना नयाँ जुधेर होइन जुटेर नै गन्तव्यमा पुग्न सकिन्छ भन्ने मर्मलाई शिरोधार गर्दै मेरो समर्थन राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हलाई रहने जानकारी गराउँछु ।’