पश्चिम नवलपरासी-२ मा कांग्रेसका भरत थापाको उम्मेदवारी कायम, कँडेलको खारेज


नवलपरासी । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र आचार्यका अनुसार भरत थापाले पहिला उम्मेदवारी दर्ता गरेकोले उनको नाम कायम गरिएको हो ।

नेपाली कांग्रेसका सभापति गगन थापाले एकै क्षेत्रका लागि भीमबहादुर थापा क्षेत्री (भरत) र देवेन्द्र राज कँडेल दुवैलाई टिकट दिएर पठाएपछि विवाद उत्पन्न भएको थियो।सुरूमा नेपाली कांग्रेसको तर्फबाट भरतले उम्मेदवारी दर्ता गराएका थिए ।

उनको उम्मेदवारी दर्ता भएको थाहा पाएपछि कँडेल पनि टिकट लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उम्मेदवारी दर्ता गर्न कागजात पेश गर्दा कम्प्युटरमा कांग्रेसको तर्फबाट दर्ता भइसकेको देखिएपछि निर्वाचन कार्यालयले इन्ट्रि गर्न नमिल्ने भन्दै उनलाई फर्काएका थिए ।