-अफिलाल ओखेडा
सम्पूर्ण बझाङबासी दाजुभाइ तथा दिदीबहिनी हार्दिक अभिवादन नमन।
आज जुन परिघटना मेरो जीवनमा घट्यो, सम्भवतः यस्तो राजनीतिक परिघटना कसैको जीवनमा घटेन होला । पार्टी अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयले मलाई टिकट दिने निर्णय गर्यो । राष्ट्रिय अन्तराष्ट्रिय मिडियाहरुले बझाङको प्रतिनिधि सभा उम्मेद्वार अफिलाल ओखेडा भनेर संसारभर मैले टिकट पाएको विषय प्रचार प्रसार भयो।
मैले सारा जीवन नेकपा एमालेको राजनीतिमा बिताएर दुर्गम र पिछडिएको क्षेत्रको विकास र अधिकारको लागि लडेको पार्टीले मूल्यांकन गरेको महसुस भयो। म सम्बद्ध पार्टी मात्र हैन अरु प्रतिष्पर्धी राजनीतिक पार्टीहरुका नेता, कार्यकर्तादेखि सबै तह र तप्काका मानिसहरुबाट बधाई र शुभकामनाले निथ्रुक्क भिजियो।
म, मेरो परिवार, मेरा साथीभाइ, शुभचिन्तक लगायत नेकपा (एमाले) बझाङका अत्यधिक कार्यकर्ता सबै खुसीले गदगद भए । जीवनमा एउटा ठूलो जिम्मेवारी र अबसर आएको महसुस भयो । पार्टीले दिएको यो जिम्मेवारी मेरो बलबुताले भ्याएसम्म पूरा गर्छु भन्ने दृढ अठोटका साथ मानसिक, भौतिक र हरतरहले तयार भएको थिएँ ।
बिहान ११ बजे टिकट लिएर मनोनयनको लागि जिल्ला जाने भनी ३ वजे धनगढीको फ्लाइटमा टिकट बनाएर पार्टी कार्यालय पुगें । पार्टी कार्यालयमा टिकट कतिबेला बितरण हुन्छ भन्दा तीन बजे हुन्छ भन्ने केही नेताले भने । सामाजिक सञ्जालमा केही बदलिने संकेत पाएपछि त्यहाँ भएका पदाधिकारीलाई सोध्दा हुँदैन कसले भन्यो भनेर उत्तर पाउँदा म पनि ढुक्क भएँ । पार्टीले यस्ता कमजोरी गर्दैन भन्ने लाग्यो । फेरि पनि ऐन महरको भयो भन्ने अपुष्ट समाचार सुनेँ । विश्वास लागेन गुण्डु पुगें । त्यहाँ वदलिएको आभास पाएँ तर कोही पनि बोल्दैनन् । सचिवालयले निर्णय गरेर जनजनमा फैलिएको निर्णय कसरी परिवर्तन भयो ?
यदि बाहिर हल्ला आए जस्तै मेरो हातमा आएको टिकट खोसिएकै हो भने मैले के अपराध गरेको रैछु ? मैले पार्टी, जनता र देशबिरुद्ध के घात गरेको रहेछु र मलाई यसरी अपमानपूर्वक गलहत्याइयो ? राजनीतिक जीवनमा मैले भ्रष्टाचार गरेँ कि ? अकुत सम्पति कमाए कि? सांस्कृतिक बिचलनमा फसें कि ? पार्टी विधि विधान विपरीत अनुशासनहीन र अनैतिक काम गरेँ कि ? मैले के अपराध गरेर मैले पाएको टिकट खोसियो ?
म फेरि प्रश्न गर्न चाहन्छु, म कसरी अयोग्य ठहरिएँ ? मलाई टिकट दिने निर्णय गर्दा गम्भीर छलफल र बहस भएरै बझाङको जिम्मेवारी दिइएको हैन र ?
कुनै राजननीतिक चेत भएको संघर्षशील मानवलाई यो लेभलको अपमान गर्नु सामान्य बिषय हो त ? यो सहन सक्ने र सामान्य बिषय हो ? यो अपमान मात्र हैन, मानवीय सम्वेदनामाथिको अपराध पनि हो । चुनावमा जि त हार कसको भएको छैन?
म माथि त अन्याय भयो भयो, साथै मेरा तमाम शुभचिन्तक साथीहरु, भुइइँ तहमा जनताको सेवामा तल्लिन कार्यकर्ताहरुमाथिको पनि घोर अपमान भएको महसुस गरेको छु।
साथीहरु राजनीतिमा लागेर मैले कमाएको जनताको माया बाहेक केही छैन । न त म सँग मुलुकको कुनै शहरमा घर छ, न घडेरी छ, न गाडी छ, न कुनै बैंक ब्यालेन्स छ। म टेम्पो/सार्वजनिक बसमै यात्रा गरिरहेको हुन्छु । आम जनताको जीवनस्तर जस्तो छ मैले पनित्यस्तै बिताएको छु । अहिलेको प्रतिनिधि सभा चुनावको लागि मेरा हितैसी साथि भाइ, आफन्त साथै कार्यकर्ताले महानुभावहरुले तन,मन,धन , कर्म ,वचन र व्यवहारले सहयोग गर्ने आश्वासन दिएका थिए । बिगतको अनुभवले म ढुक्क थिएँ । खैर ठिकै छ । तर म माथी र मेरा साथीहरु माथि भएको अपमान असह्य छ।जातीय वर्गी य,लैंगिक हित विपरीत समाावेसी, समानुपातिक मूल्यमान्यता विपरीत वल मिच्याइँपूर्वक जवरजस्ती टिकट खोसीएको अनुभूति भएको छ धन्यवाद ।

प्रतिक्रिया