बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने भएका छन् । आइतबार गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराईले गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बन्न सहमति जनाएका हुन् ।

भट्टराईले भनेका छन्, ‘गोरखा–२ का पार्टीसाथीहरू, आममतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु। सबैबाट सहयोग र सद्भावको अपेक्षा गर्दछु।’

यसअघि भट्टराईले निर्वाचन नलड्ने बताउँदै आएका थिए । गोरखा–२ मा नेपाली कम्युनिष्ट पार्टीले लेखनाथ न्यौपानेलाई र नेकपा एमालेले चक्रे मिलनलाई टिकट दिएको छ ।