तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन


विष्णु रिजाल ।

आभार तथा धन्यवाद !
यस पटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा एमालेका कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिश भएको थिएँ । जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिश गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन । उम्मेदवार छनोटका क्रममा मलाई मतदान, साथ, सहयोग, शुभेच्छा र हौसला प्रदान गर्नुहुने सबै नेता, कार्यकर्ता र दैलेख–२ का बासिन्दाप्रति आभारी छु ।

साथै, फेरि पनि तपाईंहरुको भावनालाई साकार पार्न असमर्थ भएकोमा विनम्रतापूर्वक क्षमाप्रार्थी छु ।
नेतृत्वले म सात वर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थाल्नुभएका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको छ । पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन ।

म राजनीतिमा स्वेच्छाले लागेको हुँ । दैलेखी जनता, देश र पार्टीलााई सकेको योगदान गर्नमा कुनै कसर बाँकी राख्ने छैन । मैदानमै छु, मैदानमै हुनेछु । २९ बर्षअघि ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ बर्ष भएछ । कुनै पद पाइएन भने पनि अर्को २९ बर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु ।

आजका दिनसम्म म कहिल्यै फुट र विभाजनका पक्षमा लागेको छैन । विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरुले आफू मात्रै पार्टी बनाउन लागेको रुपमा प्रस्तुत गर्नु हास्यास्पद छ ।

लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, अझ पीएचडी गर्दै गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चहमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ ।