एमालेभित्र टिकट वितरणलाई लिएर आन्तरिक लोकतन्त्रको प्रश्न


माजिद अन्सारी ।

नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको टीम नै विजयी भएको अवस्थामा हारजित प्राविधिक कुरा भएकोले नेकपा (एमाले) भित्र कमसेकम आन्तरिक लोकतन्त्र त बाकी रहेछ भन्ने सन्तोष गर्न सकिने ठाउँ थियो ।

तर आज जुन किसिमले तत्कालीन ईश्वर पोखरेल पक्ष प्यानलका उम्मेदवार जति सबैलाई जसरी प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा निषेध गर्ने काम गरियो, यसले तत्कालीन केपी शर्मा ओली ‘बा’ कोे टीम वा प्यानल नभएर फगत ‘बा’ एण्ड कम्पनी, त्यो पनि प्राइभेट लिमिटेड रहेछ भन्ने कुरा स्वयं आजको नेकपा (एमालेको) सचिवालय बैठकको निर्णयले शंकरहित तवरबाट पुनः पुष्टि गरेको छ ।

अरूको हकमा मान्न सकिएला, तर कमसे कम पार्टीको महाधिवेशनमा राम्रै मत ल्याएका, उल्लेख्य संख्यामा महाधिवेशन प्रतिनिधिले पत्याएका सुरेन्द्र पाण्डे, पार्टीको उपमहासचिवमा निर्वाचित योगेश भट्टराई त निषेध नगरेको भए हुन्थ्यो ।

हिजोसम्म ईश्वर पोखरेल पक्षलाई भीम रावल नमान्नुहोला भन्ने एमालेजनबाट सुनिन्थ्यो, तर के ती एमालेजनले ‘बा’ अब कसैलाई भीम रावल बन्न बाध्य नबनाउनुस् है भन्ने हिम्मत देखाउलान् ? आज पो ‘बा’ कोे एकल आधिपत्य छ, भोलि ‘बा’ को अपुतालीले पार्टीको बैचारिकी कहिलेसम्म थाम्ने ?

यही हो त जनताको बहुदलीय जनवाद ? यही नै हो त जनवादी केन्द्रीयताको मर्म ? पार्टीको चिन्ता गर्ने भोलिका आशावादी युवा नेता कमरेडहरुले कमसेकम “कमरेड“ सम्बोधनलाई सार्थक तुल्याउने गरी आवाज उठाउने हिम्मत देखाउनुहोस् ।

भोलि यस्तै एकल आधिपत्यमा केवल मौन समर्थन जनाउन पर्ने लाचार कार्यकर्ताहरु भएको पार्टी भावी पुस्तालाई कुन नैतिकताले हस्तान्तरण गर्दै हुनुहुन्छ ? Samik Badal Suhang Nembang Ushakiran Timsenaजस्ता एमाले भित्रको युवा पंक्तिले पत्याएका नेताहरुले भोलिको लोकतन्त्रको चिन्ता आजदेखि गर्नुपर्छ । बोल्ने हिम्मत देखाउनु पर्छ । मौनता वा विवश मौन समर्थन जनवादी केन्द्रीयता हुन सक्दैन ।

अन्त्यमा,
नेकपा (एमाले) कोे सदस्य वा समर्थक नभएतापनि, नभएपनि नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र प्रति चासो राख्न जति नेकपा (एमाले) का सक्रिय सदस्यलाई हक छ, त्यसरी नै नेकपा (एमाले) कोे विचार र व्यवहार सङ्ग असहमत तथा आलोचक हरेक नेपाली नागरिकको उत्तिकै हक रहनछ । सच्चिनुहोस् वा सक्किनुहोस् ।