यो कांग्रेसका लागि मात्र नभएर नेपाल र अन्य देशका युवाहरूका लागि पनि एउटा उदाहरण हो


-उत्तमबाबु श्रेष्ठ ।

गगन थापाले एक सच्चा लोकतन्त्रवादीले नतिजालाई भन्दा विधि र संस्थाहरूलाई कसरी बढी महत्त्व दिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् । गगन जुन तरिका र विधिबाट नेपालको सबैभन्दा पुरानो पार्टीको प्रमुख नेतृत्वमा पुगेका छन्, यो घटना नेपाली कांग्रेसका लागि मात्र नभएर नेपाल र अन्य देशका युवाहरूका लागि पनि एउटा उदाहरणीय विषय बनेको छ।

उनले एउटा लडाइँ त जिते, तर युद्ध जित्न बाँकी छ । आगामी दिनमा उनले पार्टीभित्रका आफ्ना विरोधी वा आफूलाई अवरोध गर्नेहरूसँग कस्तो व्यवहार गर्छन् भन्ने कुराले उनले युद्ध जित्छन् कि जित्दैनन् भन्ने कुरा निर्धारण गर्छ । मलाई लाग्छ, उनले तिनीहरूमाथि प्रतिशोध साध्ने छैनन्, बरु सबैलाई समेटेर अघि बढ्नेछन् र आफ्नो विनयशीलता फेरि प्रस्तुत गर्नेछन्। हुन त त्यो काम कठिन छ, तर सभापति बन्नु पनि सहज त थिएन। यदि उनले त्यसो गरे भने ढिलोचाँडो नेपाली कांग्रेसलाई फेरि नेपालको ’नम्बर एक’ पार्टी बनाउनेछन् र देशको नेतृत्व गर्नेछन् । उनलाई एकपल्ट देशको नेतृत्व गर्ने मौका दिनुपर्छ जस्तो लाग्छ ।

केही समयअघि मैले न्यूयोर्क टाइम्समा एडम ग्रान्टको एउटा लेख पढेको थिएँ- ‘Why We Fall for Narcissistic Leaders, Starting in Grade School’ भन्ने। उनले लेखको अन्त्यमा यस्तो लेखेका थिए-‘अहङ्कारी नेताहरूले आफ्ना कमजोरीहरू स्वीकार गर्दैनन् र आफैँलाई कमजोर बनाउँछन् । विनयशील नेताहरूले आफ्ना कमजोरी स्वीकार गर्छन् र आफैँलाई बलियो बनाउँछन्। महान् नेताहरूले आफ्ना कमजोरीलाई जित्छन् र समाजलाई अझ राम्रो बनाउँछन्।’ गगनले पटक–पटक आफ्ना कमजोरीहरू स्वीकारेका छन् र विनयशीलता देखाएका छन् । अब ती कमजोरीलाई जितेर उनले समाजलाई अझ राम्रो बनाउँछन् कि बनाउँदैनन्, त्यो भने हेर्न बाँकी नै छ।