काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो । योसँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा आएको छ ।
यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति थापा बनेका छन् ।
आयोगले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।
पुस २७ गतेदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए । बिहीबार र शुक्रबार दुबै पक्षका नेता कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर आ–आफ्ना दाबी पेश गरेका थिए ।
यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया