कांग्रेस जस्तो ठूलो पार्टी विभाजन हुनु राम्रो होइन : प्रचण्ड


चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् ।

शुक्रबार भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने,’संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।’

राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गरे । निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले निर्धारित समयमा निष्पक्ष रुपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा संयोजक दाहालले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताए । उनले भने,’ठूलो पार्टी विभाजन हुनु राम्रो होइन । सुखद समाचार होइन । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।’

भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक दाहालले बताए । यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रुपमा गरिएको योगदानले नै यो सम्भव भएको उनको भनाइ थियो ।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले ५३ करोड ३२ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिइन् । भवन निर्माण गर्न २०७९ साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीसँग सम्झौता भएको थियो ।

भवन बनाउन सङ्घीय सरकारको रु २१ करोड ५८ लाख, वाग्मती प्रदेश सरकारको १९ करोड ८९ लाख तथा महानगरपालिकाको ४ करोड ५० लाख रकम खर्च भएको छ । सात कट्ठा जग्गामा ६ तले भवन निर्माण गरिएको हो ।