महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भयो भन्नु ‘राजनीतिक प्रपोगाण्डा’ मात्रः गुरुराज घिमिरे


काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहका महामन्त्री गुरुराज घिमिरेले महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता गरेको कागजात निर्वाचन आयोगमा बुझाउनु राजनीतिक प्रोपोगाण्डा मात्रै भएको बताएका छन् । उनले विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठन समेत भइसकेर आवश्यक सम्पूर्ण दस्ताबेजहरू निर्वाचन आयोगमा पुगिसकेको पृष्ठभूमिमा केही महाधिवेशन प्रतिनिधिको सङ्ख्याको फिर्ताको प्रसङ्ग तर्कहीन भएको बताएका छन् । उनले भनेका छन्, ‘महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रूपमा नेतृत्व चयन समेत भइसकेपछि यो विषय उठाउनु केबल ‘राजनीतिक प्रपोगाण्डा’ मात्र हो ।’

यस्तो छ घिमिरेको भनाई

नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापतिले निर्वाचन आयोगमा पुगेर उठाएका केही बिषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

१.नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठन समेत भइसकेर आवश्यक सम्पूर्ण दस्तावेजहरु निर्वाचन आयोगमा पुगिसकेको पृष्ठभूमिमा केही महाधिवेशन प्रतिनिधिको संख्याको फिर्ताको प्रसङ्ग तर्कहिन छ।

२.महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रुपमा नेतृत्व चयन समेत भईसकेपछि यो बिषय उठाउनु केबल “राजनीतिक प्रपोगाण्डा“मात्र हो।

३.तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर विशेष महाधिवेशनको मागलाई ३ महिनासम्म छलफलको बिषय नबनाउने र विशेष महाधिवेशन नैं औचित्यपूर्ण छैन भनि तत्कालीन कार्यसम्पादन समितिले निर्णय गर्ने, नियमित महाधिवेशनको कार्यतालिकाको पालना नगर्ने, कृयाशिल नविकरण, वितरणको कार्य सम्पन्न समेत नगरिकन बिना सूचना वडा अधिवेशन रोक्ने, त्यसको दुईदिन पछि तत्कालीन कार्यसम्पादन समितिको बैठक राखेर ४ महिना पछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु बिधिसम्मत देखिदैन।तत्कालीन केन्द्रीय समिति आफैं तत्कालिन कार्यतालिकाको उल्लंघनकर्ता हो।

४.तत्कालीन केन्द्रीय समितिले आफ्नो म्याद माघ मसान्तसम्म मात्र बढाएको तर कार्यसम्पादन समितिले म्याद गुज्रिएको ३ महिना पछिको मिति राखेर नियमित महाधिवेशनको मिति तोक्नु सरासर अवैधानिक कार्य हो।

५.विशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधि मध्ये जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र फिर्ता लिएको अभिलेख सचिवालयमा छ।

६.आफैं उपस्थित भएर बिशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यबाहक सभापतिले बिशेष महाधिवेशन बारे हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो देखिन्छ।

७. विशेष महाधिवेशनको माग गर्दा २४ सय ८८ जना महाधिवेशन सदस्यको संख्या रहेको, जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५८% रहेको छ।