सबै राजनीतिक दलले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्नुपर्छः संयोजक प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन् ।

मंगलबार नेकपाका केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने बताए ।

उनले जनेजी आन्दोलनपछि पार्टी एकता र रूपान्तरण जरुरी रहेकाले नै त्यसतर्फ अघि बढेको बताए । प्रचण्डले पार्टी एकतामात्र नभएर राष्ट्रिय एकतालाई नै सुदृढ गर्नु रहेको भन्दै सँगसँगै वाम एकतालाई पनि सुदृढ गर्नु रहेकाले सबैले आआफ्नो ठाउँबाट सामना गर्न सक्नुपर्ने बताए ।

उनले सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख गरे । प्रचण्डले नेकपाले विगतमा आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी अब ती कमजोरी सच्याउँदै रुपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको बताए ।

उनले मुलुकमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटको सामना गर्नकै लागि २० भन्दा बढी कम्युनिष्ट घटकहरुलाई एकठाउँमा ल्याइएको जिकिर गरे।