काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालबीच तालमेल हुने भएको छ ।
यसअघि कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तालमेल हुने भनिएपनि सीट बाँटफाँटमा कुरा नमिलेपछि तालमेलबाट नेकपा बाहिरिएको थियो । त्यसपछि नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालले तालमेल गर्ने निर्णय गरेका हुन् ।
जसमा कांग्रेसलाई ९, एमालेलाई ८ र जसपा नेपालले एक सिटमा सहमति गरेका छन् । तीन दलको सहमतिसँग एमालेले आठ जना उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेले कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ । बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट ९ जनाना उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले कोसी प्रदेशबाट सुनिलबहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यता जसपा नेपालले भने महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया