नयाँदिल्लीमा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलबीच भेटवार्ता


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ ।

आइतबार पार्टी निकटको प्रवास संगठनको कार्यक्रममा सहभागी हुन भारत पुगेका प्रचण्डले डोभलसँग भेटवार्ता गरेका हुन् । आइतबार उनीहरुबीच भेटवार्ता भएको भारतीय समाचार संस्था ‘न्यूज १८’ ले जनाएको छ ।

नयाँदिल्लीमा भएको भेटवार्तामा नेपालमा मार्च ५ का लागि घोषणा गरिएको आम निर्वाचन, राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियाको संरक्षणबारे छलफल भएको भारतीय स्रोतले जनाएका छन् ।

डोभालले प्रचण्डका लागि राजधानीस्थित एक होटलमा आयोजना गरेको रात्रिभोज बैठकलाई नेपालमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे विचार–विमर्श गर्ने महत्वपूर्ण कूटनीतिक अवसरका रूपमा लिइएको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको पृष्ठभूमिमा नेपाल फेरि राजनीतिक संक्रमणको चरणमा रहेको र सो अवस्थाबाट निस्कन निर्वाचन नै मुख्य उपाय हुने निष्कर्ष बैठकमा उठेको बताइन्छ। प्रचण्ड पार्टीको प्रवास संगठनको कार्यक्रममा सहभागी सोमबार स्वदेश फर्किसकेका छन् ।