कांग्रेस-एमालेप्रति रविको कटाक्षः ३४ वर्षसम्म देशलाई हरिकंगाल बनाउनेको व्याख्या आवश्यक छैन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने कांग्रेस–एमालेलगायत दलहरूलाई थप प्रतिगमनको सपना नदेख्न चेतावनी दिएका छन् ।

सोमबार राष्ट्रियसभा गृहमा आयोजित बृहत् एकता समायोजन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना दललाई जालझेल र षड्यन्त्रमा नलाग्न चेतावनी दिएका हुन् । उनले कांग्रेस एमालेलाई हात लम्काउने र चम्काउने नगर्न चेतावनी दिए ।

उनले भने, ‘उहाँहरूलाई म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । आफ्नो असक्षमतालाई स्वीकार्नुस् । कुशासनको चपेटामा परेर मुलुकलाई यो अवस्थामा पुर्याउनुभयो । अब थप जोडबल नगर्नोस् । योभन्दा बढ्ता प्रतिगमनको समपना नदेख्नोस् ।फेरि चलखेल नगर्नोस् ।’

जनतालाई साक्षी राखेर आफूहरूले मुलुकलाई अगाडि बढाउने उनले प्रतिबद्धता जनाए । दुई तिहाइ नजिकको केपी ओली सरकार असफल भएको दृष्टान्त दिँदै उनले ३४ वर्षसम्म देशलाई हरिकंगाल बनाउनेको व्याख्या आवश्यक नभएको बताए । उनले निर्वाचनमार्फत जनताले नयाँ इतिहास कोर्ने भन्दै सके त्यसमा योगदान दिन आग्रह गरे ।