रास्वपाको समानुपातिक सूचीबाट मिलन लिम्बूले पनि लिए नाम फिर्ता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बूले समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत लिम्बुले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।

उनी रास्वपाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश थिए । उनले भनेका छन्, ‘म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।’

उनले एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्न आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

उनले भनेका छन्, ‘एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आउनु भएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष छ । नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता–कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ ।’

उनलेव यो कदम पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिइएको सचेत र जिम्मेवार राजनीतिक निर्णय भएको उल्लेख गरेका छन् ।

लिम्बुसँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको संख्या ७ पुगेको छ । यसअघि अरनिको पाँडे, आरोही टासी शेर्पा, गायिका डा. त्रिशला गुरुङ, कलाकार आसिफ साह, सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।