काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकको सूचीमा राखिएका व्यक्तिलाई लिएर धेरै आलोचना भएपछि उम्मेदवारी फिर्ता लिनेको लर्को लागेको छ ।
सुरुमा पुस १७ गते समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले नाम फिर्ता लिने घोषणा गरेका थिए । शेर्पाले सामाजिक संजालमार्फत उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
उनले भनेका थिए, ‘मलाई पनि प्रतिनिधिसभा सदस्यको लागि समानुपातिकमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद । तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु र म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र म एक साधारण नागरिकको रूपमा, आफ्नो कर्ममार्फत देशको लागि सक्दो योगदान दिनेछु।’
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा नातावाद, कृपावाद हावी भएको भन्दै आलोचना भएपछि उम्मेदवारी फिर्ता लिने लहर चलेको हो । शेर्पाले घोषणा गरेपछि गायिका डा. त्रिशाला गुरुङ, अभिनेता आसिफ शाह र सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
डा. त्रिशाला गुरुङ सामाजिक संजालमा लेख्छिन्ः
उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो। यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। यद्यपि, गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने मेरो दृढ संकल्प हो ।
म माथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्नेछु र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु। राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्याइरहनेछु । अन्त्यमा, पार्टीको भावी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
आसिफ शाह लेख्छन्ः
राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म । तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ । आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई ‘सांसद बन्नुपर्छ’ भन्दै सूचीमा नाम समावेश गर्नुभयो । म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको थिएँ। तर साथीहरूको सुझाव थियो—देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ।त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो।
तर त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो।सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो । देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु । तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।
यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु । साथै, जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु।
प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ—
प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ—उठ्ने नै हो।
हामी काठमाडौँ–५ बाट
प्रत्यक्ष उम्मेदवारी दिन
पूर्ण रूपमा तयार छौं।
देशभन्दा ठूलो केही हुँदैन।
सचिन ढकाल लेख्छन्ः
विदेशमा अध्ययनपश्चात उतै कैयौँ अवसरहरु प्राप्त भए पनि स्देशमै उद्यम गरी देशको समृद्धिमा सकेजति इट्टा थप्छु भन्ने अठोटका साथ म स्वदेश फर्किएको हुँ । आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी समृद्ध नेपाल निर्माणमा इमान्दार रुपले लाग्नुपर्छ भन्ने मेरा पिताजी चन्द्रप्रसाद ढकालको प्रेरणाबाट नै म उद्यमशीलताको विकासमा लागिपरिरहेको छु ।
नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा म हाल सक्रिय रहँदै आएको पनि छु । स्वदेशमा युवा उद्यमशीलता र रोजगारीका पर्याप्त अवसर प्राप्त नहुँदा हाल वार्षिक ५ लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिने गरेको नमिठो तथ्यांक हामीसँग छ । तर, विदेशमा अध्ययन सकेर उतै उपलब्ध हुने आकर्षक अवसरलाई त्याग्दै स्वदेशमै केही गर्ने योजना, सोच र आँट लिएर कैयौँ युवा आफ्नै मातृभूमि फर्किएर आउने गरेका पनि छन् । स्वदेशमै सम्भावनाका ढोकाहरु ढक्ढक्याउन आउने यिनै कैयौँ युवाका प्रयासहरुमा साथ र सहयोग दिने मेरो अठोट छ । सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ ।
उद्यमशीलताको प्रवद्र्धनमार्फत सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरु अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।
युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति म निरन्तर प्रतिबद्ध रहनेछु । साथै, आगामी दिनहरूमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको प्रतिबद्धता पनि यसै जानकारी मार्फत व्यक्त गर्दछु ।
अन्त्यमा, मलाई लाग्छ कुनै व्यावसायिक घरानाको सन्तान हुनु, उसले उद्यमशीलतामार्फत नयाँ सोच अघि सार्नु र देशको विकासमा केही योगदान गर्छु भनेर लागिपर्नु नराम्रो होइन । मेरा पिताजीको जस्तै स्वदेशमै उद्यमशीलता विकास गरेर, उद्यम व्यवसाय सञ्चालन गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्छ भन्ने नै मेरो सोच हो । मैले मेरो पारिवारिक पृष्ठभूमिबाट प्राप्त हुने अवसर लिएर नभई आफैंले हासिल गरेको शिक्षा र ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्दै उद्यमशीलताको विकास गर्ने प्रयत्नमा छु । त्यसैले मैले कुनै पनि व्यवसायको परम्परागत निरन्तरता भन्दा पनि नविनता, नवउद्यम र चुनौतीपूर्ण काममा नै आफूलाई यसरी खार्ने प्रयत्न गरिरहेको छु, जुन नेपालका सबै युवाका लागि उदाहरणीय बन्न सकोस् ।
धन्यवाद
सचिन ढकाल
अध्यक्ष, एफसी चितवन

प्रतिक्रिया