गगन र विश्वप्रकाशले भने- हामीहरुको चाहना पार्टी एक रहोस् भन्ने हो


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् ।

शुक्रबार आफूहरूलाई भेट्न आएका पार्टीका २५  केन्द्रीय सदस्यहरूसँग उनीहरूले पार्टी विभाजन हुने गरी आफूहरूले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि नबढाउने बताएका हुन् ।

महामन्त्रीद्वयलाई भेट्न आङ्गेलु शेर्पा, पुष्पा भुसाल, डा.डिला संग्रौलालगायतका केन्द्रीय सदस्यहरु गएका थिए ।

उनीहरुले आफूहरुको चाहना पार्टी एक रहोस् भन्ने रहेको बताए । भेटमा सहभागी केन्द्रीय सदस्य संग्रौलाले महामन्त्रीहरूले पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्ने तयारीमा आफूहरू नरहेको बताएको जानकारी दिइन् ।

भेटमा महामन्त्रीहरुले संस्थापनले आफूहरूसँग समन्वय नगरी आफ्नो गुटमा छलफल गरेर त्यसैका आधारमा निर्णय गर्ने गरेको गुनासो गरेका थिए ।

१५औँ महाधिवेशन गर्ने मंसिर १५ कार्यतालिकाअनुसार काम अघि नबढेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन गर्ने निर्णय गरेका थिए । महामन्त्रीद्वयलाई भेट्नुअघि ती केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए ।

उनीहरुले देउवालाई पार्टी विभाजनको अवस्था आउन नदिन आग्रह गरेका थिए । जवाफमा देउवाले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका थिए ।