काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनले पार्टी विभाजन हुनसक्ने भन्दै त्यसका समाधान गर्न आग्रह गरेका छन् ।
आज बिहान सभापति देउवालाई भेटेर उनीहरुले पार्टी विभाजनमा पुग्ने अवस्था आउन नदिन आग्रह गरेका हुन् । बिहीबार पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेषको मिति घोषणा गरेपछि केन्द्रीय सदस्यहरुले सभापति देउवालाई भेटेका हुन् ।
पार्टीको अभिभावकको नाताले पार्टी जोगाउनुस् भनेर सभापतिलाई आग्रह गरेको केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिइन् । उनीहरुले केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता टुङ्ग्याएर वडा तहको अधिवेशन सुरु गर्न सभापति देउवालाई सुझाव दिएका छन् ।
जवाफमा सभापति देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताएका छन् । बिहीबार महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेषको मिति घोषणा गरेपछि कांग्रेसमा महाधिवेशन विवाद चर्किएको छ ।
पुस १६ गतेका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरी नियमित अधिवेशन स्थगन गर्दै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया