काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा होहल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई बदनाम गर्दै सामाजिक सञ्जालमा होहल्ला गर्नेहरु नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको बताएका हुन् ।
उनले अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको बताए ।
प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफुहरुले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफूहरुलाई महसुस भएको बताए । उनले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थीति अहिले नरहेको जिकिर गरे ।
त्यस्तै उनले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरुको हातमा रहेको र उनीहरुले चाहेजस्तै गरि प्रयोग भइरहेको बताए । प्रचण्डले सामाजिक सञ्जालमा रमाएर नेपाल कब्जा गरेको ठान्नेहरुबिरुद्ध जनता एक भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया