काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले वैकल्पिक भनिएका रास्वपा, उज्यालो नेपाल लगायतका पार्टीको एकताले एमालेलाई केही फरक नपर्ने बताएका छन् ।
मदन–आश्रिम स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले बलियासँग प्रतिस्पर्धा गर्न दुब्लाले गरेको एकताले कांग्रेस–एमालेलाई फरक नपर्ने बताएका हुन् ।
उनले एमालेले महाधिवेशनबाट धेरै कुराहरूको जवाफ दिएको भन्दै निर्वाचनबाट राष्ट्रिय फैसला दिने बताए । अध्यक्ष ओलीले नयाँ भनिएका दलको एकता घैँटामा बोकेको पानीले महासागरसँग प्रतिस्पर्धा गरेजस्तो हुने बताए । उनले भने, ‘बलियासँग लड्न दुब्लाले एकता गर्ने हो, रातिसम्म अर्को एकता हुन्छ । अस्ति पनि भयो, हिजो पनि भयो, आज पनि एकता भयो ।’
रवि लामिछाने, बालेन साह र कुलमान घिसिङबीचको एकताप्रतिलक्षित गर्दै अध्यक्ष ओलीले केही पार्टीले प्रधानमन्त्री बनाइसकेको बताए ।
उनले भने, ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिरहेका छौं ।’
उनले कांग्रेस र एमालेको नजिक नपुगेसम्म रमाउन मजा हुने बताए । उनले भने, ‘एकातिर नेपाली कांग्रेस छ । छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली कांग्रेसले ।’
उनले खेलमा खेलाडीहरूमध्ये को कतिबेला पछारिन्छ थाहा नभए पनि उत्कृष्ट खेलाडीले जित्ने बताए ।

प्रतिक्रिया