-डा. युवराज संग्रौला
‘हामी देशको आर्थिक विकासका मोडेलमा बहस गरौं, उमेरको बहस बन्द गरौँ, शरीर विचार होइन, सहरमा षड्यन्त्रको राजनीति होइन गाउँको अर्थतन्त्र निर्माणको बहस गरौं, व्यक्तिको प्रधानमन्त्री बन्ने होइन विकासको सही दृष्टिकोणमा बहस होइन, राजनीतिमा विचारको नेतृत्व खोजौं, राजनीतिलाई विज्ञान र आध्यात्मिक चेतनाको अधिनमा राखौं सामाजिक संजालको अधिनमा होइन, उत्पादनको पुजा गरौं नेताको होइन, जमिन होइन पूर्वाग्रहलाई बाँझो छोडौ, विदेश गएर दोस्रो दर्जाको नागरिक हुने होइन, नेपाल फर्किएर पहिलो दर्जाको नागरिक बनौं, थुनेर पिटेर जित्ने आन्दोलन होइन बुद्धिले जित्ने आन्दोलन गरौं । पुराना मानिसलाई होइन पुरानो सोचलाई निषेध गरौं।’
हेरौं, किन हामी समस्याको चंगुलमा छौँ। जेनजी आन्दोलनको कारण रोजगार नब्याउने थारो अर्थतन्त्र हो । कहिलेकाहीँ त दिक्दार पनि लाग्छ। ३२ सालको आन्दोलन, ३६ सालको आन्दोलन, ४६ सालको आन्दोलन, मदन भण्डारीको हत्या, त्यसपछिको राजनितीमा घोडा व्यापार, महाकाली सम्झौता, १० वर्षको जनान्दोलन, दरवार हत्याकाण्ड, ६३ सालको आन्दोलन, मधेस आन्दोलन, १२ बुँदे, ७२ सालपछिको मधेस आन्दोलन, अनि अहिले जेनजी आन्दोलन सबै मेरा पुस्ताका जीवनमा नै किन ?
१. तैपनि मेरो पुस्ता देशभक्त थियो । उसले गरेको आन्दोलन राजनीति स्वतन्त्रताका लागि थियो, एउटा उन्नत संविधानका लागि थियो, द्वन्द्व अन्तका लागि थियो। तर मेरो पुस्ताले ती कुनै पाएन । मेरो देशमा आर्थिक समृद्धि भएन। अलिअलि भएका उद्योग पनि नवउदारवादले खाइदियो ।
२. देश अर्थतन्त्रका तीन विषम चंगुलमा फसेको छ । पहिलो चंगुल हो, विपुँजीकरण (decapitalization) बाट जन्मिएको ‘नवउदारवादी औद्योगिकरण विनास (neo–liberal deindustrialization)। आज देशमा आर्थिक आसमानताको विशाल खाडल छ । अर्थतन्त्र थारो गाई जस्तो छ । घाँस खाइरहन्छ। मोटाइ रहन्छ, तर ब्याउँदैन । दूध आउने कुरै भएन। अर्थतन्त्र पनि यो थारो गाई जस्तै छ । प्रतिव्यक्ति आय १५०० डलर पुगेको छ । अर्थतन्त्र सुन्निएको छ। तर यसले वस्तु उत्पादन गरेर मुनाफा कमाउँदैन। अतः रोजगार निर्माण गर्दैन। मानिस बेरोजगार छन् । अहिलेसम्म आइपुग्दा ‘देश उद्योगविहीन/उत्पादनहीन अर्थतन्त्रको डसाइ भोगिरहेको छ। युवा श्रम देशमा औद्योगिक उत्पादनमा लाग्नु पर्ने विदेश निर्यात भएको छ। सबैथोक आयात हुन्छ, केवल देशको निर्माणमा लाग्नुपर्ने श्रमशक्ति मात्र निर्यात हुन्छ। देश विदेशी सहायताको दुव्र्यसनको कुलतबाट ग्रस्त छ।
३. दोस्रो चंगुल ‘भूराजनीतिक आर्थिक चंगुल हो।’ चीन र भारतका बीचमा १०९ बिलियन डलरको व्यापार छ। चिनियाँ कम्पनी भारतमा उत्पादन गर्छन् तर भारत ‘नेपालमा चिनियाँ लगानी रहेको विद्युत किन्दैन।’ नेपालको भारतसँग बिमर्श गर्ने सामथ्र्य छैन। अन्तर्राष्ट्रिय सम्बन्ध र कानुन पढेको व्यक्ति परराष्ट्रमन्त्री कहिल्यै हुन पाएन । भूराजनीतिक अर्थतन्त्र “विकासवादी भूराजनीति बन्नै पाएन । बरु, देश युवाहरूलाई विदेशीबाट शोषि त गराएर रेमिटेन्सबाट चामल किन्छ। यो दोस्रो चंगुल हो अर्थतन्त्रको । यो जटिल भूराजनीतिलाई अन्त गरेर देशलाई औद्योगिकरण गर्न ७० वर्षमा कुनै छाँटकाँट छैन।
४. तेस्रो चंगुल ‘रेमिटेन्सको हो।’ अब अहिले नेपाल युवा जनसंख्याको नेपाल हो। नेपाल बनाउने ‘समय’ यही हो । अब विस्तारै जनंसख्या घट्दै छ र बूढो हुँदैछ। जेनजी आन्दोलनमा लाग्नेहरु ‘देशलाई औद्योगिकरण गर्ने नीति घोषित गर भन्दैन । वैज्ञानिक प्रयोगशाला बनाएर डिजिटल क्रान्तिको वातावरण बनाउ भन्ने माग राख्दैन । कृषिमा स्वनिर्भर पार्न विदेशी तरकारी, फलफुल र खाद्यान्न रोकेर स्वदेशी उत्पादनलाई बजार निर्माण गर भन्ने माग राख्दैन । बरु मन्त्रीको माग राख्छ। ‘रेमिटेन्सबाट घर चलाउ जग्गा बाँझो राख।’ उपभोक्तावादको दास आज समग्र जनसंख्या बनेको छ, गुहु पुस्ने कागज र बाहुनले लगाउने जनै पनि विदेशबाट आउँछ। कोही उत्पादनका बारेमा सोच्दैन । विदेशमा कमाएर देशमा भात खान्छ। यो “विप्रेषणको डरलाग्दो चंगुल हो।
राष्ट्र बैंकमा करिब २५ खर्ब बराबरको विदेशी मुद्रा छ । वाणिज्य बैंक र वित्तीय संस्थामा ६७ खर्बको पुँजी तरलता छ । प्रत्येक तीन महिनामा ५ खर्ब ५० अर्ब रेमिटेन्स आउँछ । देशमा तत्काल लगानी गर्न १०० खर्ब पुँजी मौज्दात छ। तर केही अर्बको विदेशी सहयोगका लागि देशको राजनीति दारा ङिच्याएर बसेको छ। यो मौज्दातलाई औद्योगिक लगानीद्वारा पुँजीकरण गरिदिए त ‘युवाले विदेशिनु पर्ने थिएन नि !’ जेनजी ननयाँ दल सरकारमा ल्याउन वार्ता गर्दैछ । देशको अर्थतन्त्र कसरी बनाउने, औद्योगिक लगानीबाट उत्पादन गर्दै पुँजी निर्माण कसरी गर्ने, कृषकहरुलाई उत्पादन र बजार दिएर कसरी आयात घटाउने, डिजिटल क्रान्तिमा युवालाई कसरी सरिक गर्ने, र विज्ञान, प्रविधि, संस्कृति र ऐतिहासिक गौरव र सबै नेपालीको समतामूलक समाज निर्माण गर्ने शिक्षा कसरी बनाउने बहश देशमा छैन । ‘बरु को प्रधानमन्त्री बन्ने,’ कसरी नयाँ नयाँको गठबन्धन बनाउने, कसरी पुराना पुरानाको गठबन्धन बनाउने आन्दोलन चलेको छ।
महात्मा गान्धीले गोलि लागेपछि भनेका थिए अरे, ‘हे राम !’
आज मलाई पनि भन्न मन लागेको छ, ‘हे राम!’

प्रतिक्रिया