काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण अझै नबनेको बताएका छन् ।
पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद दिन बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनको वातावरण बनेको दाबी गरेपनि अझै नबनेको बताएका हुन् ।
उनले अहिले पनि दलका नेतामाथि विभिन्न स्थानमा आक्रमण हुने, धाकधम्की दिने काम भइरहेको भन्दै त्यसको अन्त्य नभई निर्वाचन हुन नसक्ने बताए । उनले सरकारले वातावरण बनाए चुनावमा जान आफूहरु तयार रहेको बताए ।
उनले भने, ‘स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने हाम्रो चाहना हो, हामी त्यही समयको पर्खाइमा छौँ । हामी जस्तो पनि परिस्थितिका लागि तयार छौँ ।’
अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलमा पनि आफूहरुले चुनावी वातावरणको कुरा राखेको बताए ।
उनले भने, ‘प्रधानमन्त्री, राष्ट्रपति चुनाव गरौँ भन्नुहुन्छ । तर, वातावरण बनेको खोई ? अहिले पनि विभिन्न आक्रमण भइरहेका छन् । नेताहरूलाई कतै जान दिइएको छैन । यसरी निर्वाचनको वातावरण हुन्छ ?’
फरक प्रसंगमा उनले देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिने गरेको बताए । अध्यक्ष ओलीले देशका चर्चित भनिएका मान्छेहरू नसामा भेटिने गरेकोमा हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुव्र्यसनी नदेखिएको बताए ।
उनले भने, ’देशका चर्चित भनिएका मान्छेहरू नशामा झुम्मिन्छन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छन् । तर हाम्रा युवाहरूमा त्यस्तो कुनै दुव्र्यसन देखिएन । मेरो इख मानेर दुव्र्यसनमा भएकाहरूले छोड्नुभयो भने म धेरै खुसी हुन्छु ।’

प्रतिक्रिया