वैकल्पिक भनिएका लोकप्रिय दुई नेता एक ठाउँमा आउँदा किन नकारात्मक भाष्य ?


-नारायण गाउँले ।

कसैलाई देखाई दिन, मुटु हल्लाई दिन, धुलो चटाउन, हराउन, उखेल्न र सिध्याउनमात्रै मिल्नुपर्नेजस्तो भाष्य विकास हुँदैछ र त्यो काम अन्यबाट नभएर स्वयं रास्वपाकै नेता र कार्यकर्ताबाट भइरहेछ । १० जना नेताको स्ट्याटस हेर्नुभयो भने ‘आज त निद्रा लागेन होला, मुटु हल्लियो होला, सातो गयो होला’ जस्तो मात्रै भाषा र भाष्य भेट्नुहुनेछ । मिलेन भने हामी जेल जान्छौँ, सिद्धिन्छौँ र मिल्यौँ भने सबैलाई जेल हाल्छौँ भन्ने खालको निगेटिभ क्याम्पेन देखिन्छ ! यस्तो डरत्रास र अत्यासको क्याम्पेनले त देशलाई प्रतिशोध, द्वन्द्व र हिंसाको कहिल्यै नसकिने शृङ्खलातिर लैजान्छ । किनकि आज जसले देख्छ, भोलि उसले देखाउँछ । पर्सी फेरि अर्कोले देखाउँछ । सिङ्गो देशको ध्यान र स्रोत साधन नै देख्ने र देखाउनेतिर सोझिन्छ ।

वैकल्पिक भनिएका र यो पुस्ताका अत्यन्त लोकप्रिय दुई व्यक्तिहरू एक ठाउँमा आउँदा सकारात्मक भाष्य पो निर्माण हुनुपर्ने हो । जताततै आशा, विश्वास र सपनाको फूल फुल्नुपर्ने हो । दुई नेता त व्यस्त होलान्, तर टिम त होला नि । त्यसले विकासको, समृद्धिको, रूपान्तरणको, परिवर्तनको ठोस खाका र रोडम्याप बनाउने र देश यसरी बन्छ भन्ने चित्र सँगसँगै प्रस्तुत गर्नुपर्ने हो । देशको मुख्य समस्या तीन जना व्यक्तिमात्रै त पक्कै नहोलान् । व्यक्ति त यही चुनावमा फालिएलान् पनि । कसैले केही नगरे पनि एकदिन उमेर र स्वास्थ्यकै कारण पनि बिदा होलान् । के ती जानेबित्तिकै देश बन्छ त ? के हिजो ती नहुँदा देश बनेको थियो ?

नयाँले त देश बन्ने कसरी हो ? बाधा र व्यवधान के हो ? दश खर्बको राजश्वलाई बीस खर्ब बनाउने कसरी हो ? कुनकुन कानुन, ऐन र व्यवस्थाले डेलिभरीलाई रोकेको हो ? केके फेर्ने हो ? कसरी फेर्ने हो ? जर्जर र झन्झटिलो कर्मचारीतन्त्रलाई कसरी पुनर्निर्माण गर्ने हो ? न्यायव्यवस्थालाई कसरी जनमुखी र द्रुत बनाउने हो ? भूराजनीतिलाई कसरी व्यवस्थापन गर्ने हो ? युवालाई देशमैं रोक्न सकिने अल्पकालीन र दीर्घकालीन योजना के हो ? जस्ता विषयमा तथ्य, स्रोत र कार्यक्रम पो प्रस्तुत गर्ने हो !
अहिलेको प्रणाली र समीकरण अनुसार बहुमत ल्याउन सजिलो छैन । नयाँ र पुराना दलहरू नमिली देश बनाउन सकिन्न । निषेध, आक्रोश, गाली, प्रतिशोध र उत्तेजनामात्रै रोपेर समृद्धि र शान्ति फल्दैन । देश सबैको हो र सबै नमिली अगाडि बढ्न गाह्रो छ । बनाउन असजिलो होला, भत्काउन, बिगार्न र सिध्याउन थोरै भए पनि पुग्छ ।

पाकिस्तानमा इमरान खानले केही गर्न खोजेका थिए, अद्भूत जनमत पनि थियो तर निगेटिभ क्याम्पेनले गर्दा उनी जेलभित्रै सकिने भए । निगेटिभिटी जहिल्यै बलियो हुन्छ । दश लिटर दूधले धोए पनि एक थोपा थूक चोखो बन्दैन तर एक थोपा थूकले बीस लिटर दूध बेकार बनाइदिन्छ । केजरीवालले पनि एउटा नयाँ ऊर्जा र आशा जगाएका थिए तर उनको क्याम्पेन पनि गालीबाट बाहिर आउन सकेन र तुहियो । दूध बेकार भयो ।

वैकल्पिक शक्ति भन्नेहरूका अगाडि एउटा अभूतपूर्व अवसर उभिएको छ । सधैँ यस्तो अवसर नआउन पनि सक्छ । यसलाई सभ्य, भव्य, सकारात्मक, योजनाबद्ध र सङ्गठित रूपले प्रयोग गर्न सक्ने हो भने नतीजा आउन सक्छ । उच्च लोकप्रियताले कम्तिमा निराशालाई एकछिन रोक्छ र काम गर्ने अवसर दिन्छ ।

यति धेरै लोकप्रियता छ कि केही सिट त त्यसै पनि आउँछ । परम्परागत दलहरूप्रतिको निराशा र विरागले पनि अलिकति सिट त्यसै थपिदिन्छ । त्यो भोट ब्याङ्कलाई यस्तो भाष्यले काम गर्ला । तर निर्णायक स्तरको विजयका लागि राप्रपा, कांग्रेस र एमालेलाई लेबी बुझाउनेसम्मका साधारण मान्छेको भोट पनि चाहिन्छ । साँच्चिकै केही योजना र सपना बोकेर देश बनाउनै आएका हुन् भन्ने विश्वास चाहिन्छ । छिमेकी नारा ’सबका साथ सबका विकास’वाला भाष्य र ’भाइव’ चाहिन्छ । दललाई विश्वास गरेर लेबी तिर्ने जतिलाई झोले भनेर गाली गर्ने होइन, हामी त्यसभन्दा राम्रो गर्छौँ भनेर त्यो लेबी आफूतिर फर्काउने हो ।
स्मरण रहोस्, देश एउटा व्यक्तिले बिगार्न सक्छ तर बनाउन सिङ्गो सिस्टम नै राम्रो र प्रभावकारी बन्न पर्छ । एउटा पूर्जा बिग्रे मोटरसाइकिल ठप्प हुन्छ तर चल्नलाई सबै पूर्जाले काम गर्नपर्छ । बाँकी त सबै मभन्दा बुझक्कड नै हुनुहुन्छ ।