सर्वपक्षीय छलफलमा प्रधानमन्त्रीः सरकारमाथि जेनजी र दल दुवैबाट आलोचना भइरहेको छ, हामी सहन तयार छौँ


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन तथा व्यवस्थापनसम्बन्धमा सरकारले सरोकारवाला र राजनीतिक दलसँग छलफल गरेको छ ।

सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचनमा ढुक्क भएर सहभागी हुन आग्रह गरिन् । उनले निर्वाचनलाई सङ्कट होइन, परिवर्तन र उत्साहको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि आठ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न राजनीतिक दलका नेता तथा दुई जना जेनजी प्रतिनिधिले आफ्ना धारणा राखेका थिए । छलफलमा सहभागी अधिकांशले निर्वाचन हुनुपर्ने मत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीले संविधानअनुसार प्रतिनिधिसभाको दुई अधिवेशनबीच ६ महिनाभन्दा बढी रिक्तता हुन नहुने व्यवस्थाका कारण निर्वाचन अपरिहार्य भएको बताइन् । उनले निर्वाचन शान्तिपूर्ण रूपमा परिवर्तन ल्याउने माध्यम भएकाले हिंसा र विद्रोहभन्दा यही बाटोबाट हुने परिवर्तन दिगो र लोकतान्त्रिक हुने बताइन् ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै त्यसले समाज र राष्ट्रलाई परिवर्तनको आवश्यकता महसुस गराएको बताइन् ।

जेनजी र युवापुस्ताले उठाएका प्रश्नहरूको समाधान गर्ने दायित्व सबैको हो भन्दै उनले परिवर्तित समयअनुसार राजनीतिक दलबाट अझ बढी सकारात्मक भूमिका अपेक्षित रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले सरकार आलोचना सहन तयार रहेको तर त्यो सबै मुलुकको हितका लागि हुनुपर्नेमा जोड दिइन् ।

‘सरकारमाथि जेनजी र दल दुवैबाट आलोचना भइरहेको छ, हामी त्यो सहन तयार छौँ । राजनीतिक दल, नागरिक समाज, पत्रकार र कर्मचारी सबैलाई मुलुकको उन्नति र विकासका लागि सहयोग गर्न आग्रह गरिरहेका छौँ । त्यसैले बाँकी समयलाई प्रभावकारी रूपमा उपयोग गर्दै निरन्तर संवाद र काम भइरहेको छ । यसमा सबै लागौँ, तोकिएको समयमै निर्वाचन गरौँ’, उनले भनिन् ।