काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको वातावरण बनाउन दलका शीर्ष नेताहरुसँग संवादको थालनी गर्न सरकारलाई सुझाव दिएको छ ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको निर्वाचन कानुन र व्यवस्थापनबारेको सर्वदलीय छलफलमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेताहरुलाई स्थान हद लगाएर निर्वाचन हुन नसक्ने बताए ।
उनले कांग्रेसले निर्वाचनमा जाने औपचारिक निर्णय गरिसकेको भन्दै फागुन २१ मै निर्वाचन हुनुपर्ने बताए । उनले भने, ‘केही नेताहरूलाई स्थान हदको कुरा आएको छ । संविधानले दिएको अधिकारअनुसार कुनै पनि नेता १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न पाउँछ। तर स्थान हद लगाइएका नेताहरू, एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर वा पोखराबाट उम्मेदवार भए भने प्रचार कसरी गर्छन्?’
यादवले भयरहित वातावरण चुनाव गराउनसक्ने सरकारले आधार दिनुपर्ने बताए । उनले कांग्रेस निर्वाचनका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्दै उम्मेदवार सिफारिस प्रक्रिया पनि जारी रहेको बताए ।
यादवले निर्वाचन मिति घोषणा मात्रै पर्याप्त नहुने भन्दै वातावरण निर्माण अनिवार्य रहेको बताए।

प्रतिक्रिया