पार्टीको जस्तै आमचुनावमा पनि जितेर देखाउन ओलीलाई रवि लामिछानेको चुनौती


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाले जेनजी आन्दोलनले उठाएका माग पुरा गर्ने बताएका छन् ।

जेलबाट रिहा भएपछि पहिलो पटक आइतबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेका सभापति लामछिानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दैै जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताए ।

उनले भने, ’जेनजीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैन सिंहदरबार बदल्न पनि आवश्यक छ ।’

उनले निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै रास्वपाले निर्वाचनको वातावरण बनाउन सहयोग गर्ने बताए । उनले जेनजी आन्दोलनलाई दमन गरेकाहरु अहिले सल्बलाएकोभन्दै चुनावमा गएर जनताको मत जित्न चुनौती दिए ।

उनले भने, ‘जेनजी विद्रोहका क्रममा भागेका शक्तिहरू अहिले निर्वाचन बिथोल्न लागेका छन् ।तपाईंहरूले मुन्टो निकाल्नुपर्दैन रास्वपा निर्वाचनको पक्षमा छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नभागी निर्वाचनमा सहभागी हुन चुनौती दिए ।

उनले भने, ‘चुनावमा भाग लिएर पार्टीको जस्तै आमचुनावमा पनि जिते भइगयो । बहादुरीसहित अगाडि बढ्नुस् । बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन ।’सभापति लामिछानेले आफूले कसैप्रति कटाक्ष नगर्ने बताए ।