-नारायण पौडेल ।
उत्तरआधुनिक कालमा जनता सबैभन्दा डिसेप्टिव (झुक्काउने) खालका हुन्छन् । राजा ज्ञानेन्द्र भीड देखेर झुक्किए, सबै आफ्नै पक्षमा रहेको ठाने । सत्ता हातमा लिए । पछि के भयो– भनिरहन पर्दैन । फेरि भीड मनोविज्ञान देखिँदैछ । एमालेले सभा गर्यो, भरिभराउ छ । उज्यालोले सभा गर्यो, भीड उस्तै छ । राजा निस्कँदा भीडमभाड भएकै छ । समाजवादिको भीडपनि को भन्दा को कम खालको छ । रास्वपाको रापताप उर्लँदो छ ।
आफ्ना नेतालाई आइ लभ यू भन्ने हुन् वा प्राणभन्दा प्यारा, ति परेको दिन आफ्नै सुरक्षामा गुप्त रहनेछन् । मोबाइलसमेत छिनिएका ओलीको खोजी गर्ने कोही थिएन । उनी निस्किएपछि आइ लभ यू भन्नेको कमी भएन । ५ मिनेट ढिलो भएको भए ज्यान जाने अवस्थामा पुगेका ओलीको वेचैनी बुझ्न सकिन्छ । देउवा निर्घात कुटिँदा छिमेकी काङ्ग्रेसले समेत बचाउमा हात बढाएनन् । सुप्रिमो सेनाको शरणमा जानुपर्ने अवस्थामा समेत लडाकु दस्ता भएको पार्टी लड्डु खेलाएर बस्नुपर्ने स्थिति बन्यो ।
यस्तो स्थितिमा संगठित पार्टी सदस्य भेला गर्दा दललाई मनशान्ति होला, तर जनमत परिवर्तन हुँदैन । असंगठित र स्वतस्फूर्त समूह निर्वाचनमा निर्णायक हुन्छ । पहिला गाउँको अगुवाले बोलेपछि गाउँभरको एक छाप हुन्थ्यो । अहिले बाउले भनेको ठाउँमा छोराछोरीले भोट हाल्दैनन् । कामकाज रोकिवरी दिनभरका पट्यारलाग्दा सभामा गैरहनुपर्ने बेगारी प्रथा अन्त्य गरेको राम्रो । बरु सटिक र रोचक सामग्रीको उत्पादन गर्ने र तिनलाई सम्प्रेषण गर्दा किफायति र प्रभावकारी होला । ताकी जनसमुदायले कमोटमा बस्दा भएनि हेरुन् । सभा गर्दा पनि छोटो मिठो गरुन्, पट्यार लाग्दा रटन्ते र क्लासिक राजनीतिक वक्तव्यबाजी नगरुन् !

प्रतिक्रिया