-जीवा लामिछाने
यूरोपेली संघका केही मुलुकहरूले आफ्ना गैरआवासीय नागरिकहरूको राजनीतिक अधिकार सुरक्षित गर्ने उद्देश्यले संविधानमै विशेष व्यवस्था अपनाएका छन् । इटली, पोर्चुगल र फ्रान्समा आप्रवासी नागरिकहरूका लागि छुट्टै निर्वाचन क्षेत्र निर्धारण गरी संसदमा प्रत्यक्ष प्रतिनिधि पठाउने संवैधानिक व्यवस्था गरिएको छ ।
यी तीन देशमध्ये इटलीको मोडेल सबैभन्दा स्पष्ट र व्यवस्थित मानिन्छ । इटलीको संविधानले विदेशमा रहेका आफ्ना नागरिकलाई मतदान गर्ने तथा संसदमा प्रतिनिधि पठाउने अधिकार सुनिश्चित गरिदिएको छ। सन् २००१ देखि विदेशस्थित इटालीयन नागरिकहरूका लागि विशेष निर्वाचन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यो सुविधा इटाली बाहिर बसोबास गर्ने र AIRE (विदेशमा बस्ने इटाली नागरिकको दर्ता प्रणाली) मा नाम दर्ता भएका नागरिकहरूले उपयोग गर्न सक्छन् । विदेशस्थित इटालीयन नागरिकहरूले देशभित्रका निर्वाचन क्षेत्रअन्तर्गत नभई छुट्टै ‘विदेशी निर्वाचन क्षेत्र’बाट मतदान गर्दछन् । समग्र विदेशी निर्वाचन क्षेत्रलाई चार ठूला भौगोलिक भागमा विभाजन गरिएको छः युरोप (रूस र टर्कीसहित), दक्षिण अमेरिका, उत्तर तथा मध्य अमेरिका, र अफ्रिका–एशिया–ओसिनिया–अन्टार्कटिका । यी प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै सांसद निर्वाचित हुन्छन् ।
यसरी निर्वाचित हुने सांसदहरूका लागि इटालीको संसदमा निश्चित सिट सुरक्षित गरिएको छ । प्रतिनिधि सभामा (Camera dei Deputati) विदेशस्थित नागरिकका लागि कुल ८ सिट छुट्याइएको छः
युरोप र दक्षिण अमेरिकाबाट तीन–तीन सिट,
उत्तर तथा मध्य अमेरिकाबाट एक सिट,
अफ्रिका–एशिया–ओसिनिया–अन्टार्कटिकाबाट एक सिट।
त्यसैगरी, सिनेट (Senato della Repubblica) मा कुल ४ सिट सुरक्षित छन्: युरोपबाट दुई, अमेरिकाबाट एक, र अफ्रिका–एशिया–ओसिनिया–अन्टार्कटिकाबाट एक। यसरी विदेशमा बसोबास गर्ने इटालीयन नागरिकका लागि संसदमा कुल १२ सिट सुनिश्चित गरिएको छ । मतदान प्रणाली मुख्यतः पोस्टल भोटिङमार्फत सञ्चालन हुन्छ । इच्छुक मतदाताले इटालीमै गएर प्रत्यक्ष मतदान गर्ने विकल्प पनि प्रयोग गर्न सक्छन् ।
उम्मेदवारको हकमा, उम्मेदवार विदेशमै बसोबास गरेको र सम्बन्धित विदेशी निर्वाचन क्षेत्रबाटै मनोनयन दर्ता गरेको हुनुपर्छ । राजनीतिक दलबाट वा स्वतन्त्र उम्मेदवारका रूपमा पनि चुनाव लड्न पाइने व्यवस्था छ। प्रचार–प्रसार प्रायः स्थानीय डायस्पोरा समुदाय, संगठन तथा विदेशस्थित नागरिकका वास्तविक मुद्दामा केन्द्रित हुन्छन् ।
यो मोडेल प्रभावकारी मानिए पनि केही सीमितता र आलोचना पनि सुनिन्छन् । आप्रवासी इटाली नागरिकको संख्या बढ्दै गए पनि संसदमा सुरक्षित सिट संख्या भने स्थिर छ । जसले गर्दा इटालीभित्रका मतदाताको तुलनामा विदेशस्थित नागरिकको प्रतिनिधित्वको अनुपात कम भएको गुनासो सुनिन्छ । समग्रमा, इटालीको यो व्यवस्था विदेशमा बसोबास गर्ने आफ्ना नागरिकलाई केवल आर्थिक स्रोतका रूपमा मात्र नभई राजनीतिक भागीदारका रूपमा स्वीकार गर्ने उदाहरणीय अभ्यास हो !

प्रतिक्रिया