काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव भाँड्ने षड्यन्त्र भइरहेकाले खबरदारी गर्न आग्रह गरेका छन् ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको ‘एकता सन्देश सभा’ सम्बोधन गर्दै प्रचण्डले विगतमा आफूलाई ठूला भन्ने दल चुनावमा हार्ने डरले पुरानो संसद ब्यूँताउनेतिर लागेका बताए ।
उनले १६ वटा कम्युनिष्ट पार्टीको एकता भएको देखेर उनीहरु आत्तिएका बताए । प्रचण्डले भने,‘१६ वटा कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेका छौं र बाँकीलाई पनि ल्याउने प्रयासमा छौं । यो देखेर उनीहरु आत्तिएका छन् । केही पार्टी विगतमा आफूलाई हात्ती सम्झिनेहरु चुनाव भाँड्ने षड्यन्त्रमा छन् । त्यो सपना नपाले हुन्छ अब । अब तिनीहरु शून्यमा झर्नेछन् ।’
उनले कुनै बहानामा निर्वाचनको मिति सारे आफू चुप लागेर नबस्ने चेतावनी दिए । उनले भने, ‘सरकारलाई हामी भन्न चाहन्छौँ, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला। यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस गरे हामी चूप लागेर बस्ने छैनौँ।’
उनले नेकपालाई बुढाहरुको पार्टी नभन्न आग्रह गरे । उनले भने, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ भने जस्तो हाम्रो कुरा सुन्नुस् ।’
उनले आफूले संसदमा बोल्दा पनि काठमाडौँका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङलाई सम्झाएको बताए ।
उनले भने, ‘फेरि पनि बालेन र हर्क साम्पाङलाई भन्छु– हाम्रो रगत र पसिनाको मूल्य बुझ्नुहोस्, सहिदको रगतको मूल्य बुझ्नुहोस्।’
उनले नेपालबारे नेपाली जनताबाट नभई अन्तैबाट फैसला गर्ने षड्यन्त्र भइरहेको बताए । उनले प्रतिक्रियावादीको त्यो षड्यन्त्र विफल पार्ने बताए ।
उनले भने, ‘नेपाली जनता तिमीहरुको षड्यन्त्रको पछि लाग्ने छैनन् । तिमीहरुको षड्यन्त्र विफल पार्छौं ।’

प्रतिक्रिया